काठमाडौं । विद्युतीय सवारी साधन (ईभी)मा प्रयोग हुने ब्याट्रीमा एकपछि अर्को नयाँ खोज, अनुसन्धान र विकास भइरहेको छ । कम्पनीहरूले ईभीलाई भरपर्दो, विश्वसनिय र छरितो बनाउन नयाँ नयाँ प्रविधिका ब्याट्रीहरू ल्याइरहेका हुन् ।
यसैक्रममा, चीनको एफएडब्लू ग्रुपको होङ्छी ब्राण्डले तीव्र गतिमा चार्ज हुने नयाँ अल्ट्रा फास्ट चार्जिङ ब्याट्री प्रविधि सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार यो नयाँ ब्याट्री केबल ३ मिनेट ४१ सेकेण्डमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन्छ । व्यावसायिक उत्पादनमा आएपछि यसले प्रतिस्पर्धी बीवाइडीले यसअघि ल्याएको दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ लाई समेत पछि पार्ने दाबी गरिएको छ ।
यो नयाँ ब्याट्री होङ्छी ब्राण्डले चाइना अटोमोटिभ न्यू इनर्जी ब्याट्री टेक्नोलोजीसँग मिलेर आफैं विकास गरेको हो । यो ब्याट्रीले हालै २५ डिग्री सेल्सियसमा चार्जिङ पर्फमेन्स टेस्ट पूरा गरेको मंगलबार जारी एक वक्तव्यमा उल्लेख छ ।
परीक्षणको तथ्याङ्क अनुसार यो ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशत स्टेट अफ चार्ज सम्म चार्ज हुन ३ मिनेट ४१ सेकेण्ड र १० प्रतिशतबाट ९७ प्रतिशतसम्म पुग्न ८ मिनेट ३ सेकेण्ड मात्र लाग्छ । जुन अटो क्षेत्रकै उत्कृष्ट आँकडा भएको होङ्छीले बताएको छ।
बीवाइडीले गत मार्चमा ५ सार्वजनिक गरेको दोस्रो पुस्ताको ब्लेड ब्याट्रीलाई फ्ल्यास चार्जिङ सुविधा प्रयोग गर्दा १० प्रतिशतबाट ७० प्रतिशत चार्ज हुन ५ मिनेट र १० प्रतिशतबाट ९७ प्रतिशत पुग्न ९ मिनेट लाग्छ।
तर, बीवाइडीको यो प्रविधि हाल बजारमा उपलब्ध थुप्रै गाडीहरूमा प्रयोग भइसकेको छ भने होङ्छीले आफ्नो नयाँ ब्याट्रीको व्यापक उत्पादन कहिलेदेखि सुरु हुन्छ र कुन मोडलमा पहिलो पटक प्रयोग गरिनेछ भन्नेबारे अझै स्पष्ट पारेको छैन।
होङ्छीको नयाँ अल्ट्रा फास्ट चार्जिङमा एनोड प्रयोग गरिएको छ । जसले सेलहरूको चार्जिङ दरको अवरोधलाई तोड्दै १२ सीको पिक चार्जिङ दर प्रदान गर्ने कम्पनीले बताएको छ ।
होङ्छीले ब्राण्डले लिथियम आयन माइग्रेसनको अवरोधलाई घटाउन लो डिसोल्भेसन इनर्जी भएको आफ्नै इलेक्ट्रोलाइट पनि विकास गरेको छ।
‘कम्पोजिट कार्बन सोर्स कोटिंग र बल्क फेज डोपिङ मोडिफिकेसन प्रविधि प्रयोग गरिएकाले यो सेलको आन्तरिक प्रतिरोध उस्तै प्रकृतिका अन्य सेलहरूको तुलनामा १५ प्रतिशत कम छ । जसले चार्ज ट्रान्सफर दक्षता र चार्जिङ प्रतिक्रिया गतिमा सुधार ल्याउँछ,’ होङ्छीले भनेको छ ।
ब्याट्रीलाई तात्न नदिन कम्पनीले इन्टेलिजेन्ट लिक्विड कुलिङ थर्मल म्यानेजमेन्ट सिस्टम प्रयोग गरेको छ। यसले फास्ट चार्जिङका क्रममा ब्याट्री प्याकभित्रको तापक्रमको अन्तरलाई ३ डिग्री सेल्सियसभन्दा बढाउन दिँदैन। गाडी गुडाउँदा वा पार्क गर्दाको अवस्था अनुसार यसले तापक्रम अनुकूल ढङ्गले नियन्त्रण गरी ऊर्जा खपत घटाउँछ।
सुरक्षाका लागि यसमा ‘सेफ्टी बाउन्ड्री बेस्ड एडप्टिभ फास्ट चार्जिङ’ रणनीति अपनाइएको छ । जसले ब्याट्रीको तापक्रम, भोल्टेज र चार्जलाई रियल टाइममै अनुगमन गर्छ । यसले गर्दा ओभरचार्जिङ वा ओभरभोल्टेज जस्ता जोखिमहरू पूर्ण रूपमा नियन्त्रण हुन्छन् ।
पावर ब्याट्री नवप्रवर्तनको क्षेत्रमा यो सफलतालाई एक महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ । हालैका महिनाहरूमा ब्याट्री प्रविधिमा होङ्छीको यो दोस्रो ठूलो सफलता हो ।
यसअघि डिसेम्बर ३१ मा कम्पनीले होङ्छी टियाङ्गोङ ०६ मोडलमा आधारित अल सोलिड स्टेट ब्याट्री प्याक जडित आफ्नो पहिलो प्रोटोटाइप गाडी सार्वजनिक गरिसकेको थियो ।


