तीन डिफरेन्सियल लक र १५ ड्राइभङि मोडसहित जेटोरको एफ-७०० पीकअप आउँदै

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चेरीको जेटोर ब्रान्डमा ‘जोङहेङ एफ-७०० प्लगइन हाइब्रिड’ पीकअप ट्रक बजारमा आउने भएको छ । कम्पनीले आगामी अगस्ट ६ मा औपचारिक रूपमा बजारमा सार्वजनिक गर्ने एफ-७०० पीकअप चिनियाँ डिलर नेटवर्कमा भने पुगिसकेको हो ।

यसअघि नै यसको अग्रिम बुकिङ खुला भइसकेको एफ-७०० पीकअपको सुरुवाती मूल्य ३ लाख ६४ हजार ९ सय युआन तोकिएको छ ।

जेटोरको एफ-७०० पीकअपको लम्बाइ ५४९५ एमएम, चौडाइ २०५० एमएम र उचाइ १९८५ एमएम छ । यसमा ३३५० एमएम लामो ह्विलबेस पाउन सकिन्छ ।

पीकअपको पछाडिको कार्गो एरिया १५२० एमएम लामो छ । यसमा विभिन्न सामान बाँध्न मिल्ने एंकर प्वाइन्टहरु उपलब्ध हुनेछन् । यसमा ६.६ किलोवाट क्षमताको ‘भेहिकल टु लोड’ सुविधा उपलब्ध गराइएको छ ।

जेटोरले एफ-७०० पीकअपमा आफ्‌नो कुनपेङ सुपर पर्फर्मेन्स हाइब्रिड सीडीएम-ओ प्रणाली प्रयोग गरेको छ । यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन र डीएचटी गियरबक्स छ । यसमा इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर ९०४ बीएचपी छ । टर्क भने ११३५ न्युटन मिटर उत्पादन गर्ने कम्पनीको दाबी छ ।

नयाँ पीकअप ट्रकलाई जेटोरले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । यसमा सीएटीएलले उत्पादन गरेको ४सी डुअल-लेयर सेनसिङ ब्याट्री दिइएको छ । उक्त ब्याट्री फुल चार्ज र इन्धन ट्याङ्कीमा भरी पेट्रोल भएको खण्डमा यो पीकअपले १ हजार ३०० किलोमिटरसम्म यात्रा गर्नेछ ।

अफरोड क्षमताका लागि एफ-७०० मा ल्याडर फ्रेम, अगाडि र पछाडि डबल-विशबोन इन्डिपेन्डेन्ट सस्पेन्सन, तीनवटा डिफरेन्सियल लक र १५ वटा ड्राइभिङ मोड दिइएको छ ।

यसमा १५.६ इन्चको केन्द्रीय स्क्रिन, ३५.४ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८२५५ प्रोसेसर र चालक सहायता प्रणालीसमेत उपलब्ध हुनेछ ।

अन्तर्राष्ट्रिय बजारलाई मध्येनजर गरेर उत्पादन गर्न लागिएको एफ-७०० पीकअप भविष्यमा नेपाल पनि आउन सक्ने मोडल हो । जेटोर ब्राण्डलाई लक्ष्मी ग्रुपले नेपाली बजारमा बिक्री सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।


Back_to_top