काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले आगामी ५ वर्षभित्र विद्युतीय सवारी साधन (ईभी)को उत्पादन क्षमता दोब्बर बनाउने रणनीति सार्वजनिक गरेको छ ।
कम्पनीले बजारमा ईभीको बढ्दो मागलाई मध्येनजर गर्दै उत्पादन क्षमता दोब्बर बनाउने भएको हो ।
कम्पनीले आफ्नो इंग्लो र नयाँ एनयू आइक्यू आर्किटेक्चर प्लेटफर्ममा आधारित नयाँ पुस्ताका एसयूभीहरू बजारमा ल्याउँदै ईभी उत्पादन र बिक्रीमा ठूलो फड्को मार्ने तयारी गरेको हो।
कम्पनीले चर्चित एसयूभी थारको इलेक्ट्रीक भर्सन विकास गरिरहेको अनुमान गरिएको छ । त्यस्तै, आगामी वर्ष नयाँ इलेक्ट्रीक मोडल बीई ०७ लन्च गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले आइसी भेहिकलतर्फ पनि नयाँ भिजन एसका साथै स्कोर्पियो एन लगायत मोडल अपडेट गरेर ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीका अनुसार हाल महिन्द्राका कुल एसयूभी बिक्रीमा प्योर इलेक्ट्रीक मोडलहरूको हिस्सा १२ प्रतिशत पुगिसकेको छ । जुन समग्र अटोमोबाइल उद्योगको औसतभन्दा धेरै अगाडि हो। महिन्दको इंग्लो प्लेटफर्ममा बनेको एक्सईभी नाइन एस भारतमै सबैभन्दा बढी बिक्री हुने ईभी मोडलका रूपमा स्थापित छ ।
ईभीको बिक्रीले अपेक्षित गति लिँदा महिन्द्राले चालु आर्थिक वर्ष २०२७ को पहिलो त्रैमासिकमा ३४ प्रतिशतको एकीकृत खुद नाफा कमाएको छ । कच्चा पदार्थको बढ्दो लागत र मुद्रास्फीतिको दबाबका बाबजूद एसयूभी र ट्रयाक्टरको बलियो उत्पादन र बिक्री परिमाणले वित्तीय स्थितिलाई थप मजबुत बनाएको हो ।
कम्पनीको कुल राजस्वमा एसयूभी सेग्मेन्टको हिस्सा २५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा स्कोर्पियो, थार र एक्सयूभी ९ सिरिजको उच्च मागका कारण एसयूभी उत्पादन तथा बिक्री १५ प्रतिशतले बढेर करिब १ लाख ७५ हजार युनिट पुगेको छ ।


