सडक मर्मत गर्न महानगरको विशेष टोली

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेको सडकहरुको तत्काल मर्मत सम्भार गर्न स्पेसल टास्कफोर्स परिचालन गर्ने भएको छ । २०७६/७७ को नीति तथा कार्याक्रमको सहरी यातायात व्यवस्थापन नीतिमा स्पेसल टास्कफोर्स परिचालनको व्यवस्था गरिने उल्लेख गरिएको हो । 

बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकहरुको तत्काल मर्मत सम्भार गर्न स्पेसल टास्कफोर्स बनाई परिचालन गरिने बताएका हुन् ।

यस्तै काठमाडौं महानगरपालिकाले सहरी यातायात व्यवस्थापन नीति ल्याएको छ । आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्याक्रममा सहरी यातायात व्यवस्थापन नीति पेस गरिएको छ । 

महानगरले ल्याएको नीति तथा कार्यक्रम अनुसार सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाउन काठमाडौं दिगो शहरी यातायात आयोजना, जेआईसिए तथा सडक विभागबाट तयार गरिएको प्रतिवेदनहरुलाई आधार मानी उपत्यकाको दिगो यातायात व्यजवस्थापनमा महानगरपालिकाले अगुवाइ लिने भएको छ । 

संभाव्य देखिएका स्थानहरुमा साइकल लेन बनाइने तथा निश्चित स्थानहरु भेकल फ्रि जोनका रुपमा समेत स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

काठमाडौं महानगर क्षेत्रभित्र थप स्मार्ट पार्किङको व्यवस्था गरिने तथा सहरका विभिन्न ठाउँमा स्मार्ट ‘भर्टिक पार्किङ’ र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक लाइटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाइने छ । 

बायुमण्डलको स्वच्छता र जनस्वास्थलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने तथा उपत्यकाका अन्य नगरपालिकाहरु एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आर्थिक वर्षदेखि विद्युतीय बस सेवा सन्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यस्तै उपत्यकाभित्र सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक सुरक्षासँग सम्बन्धित पाँच रणनैतिक स्तम्भहरु (सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक तथा गतिशिलता, सुरक्षित सवारी बाहन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पश्चातको प्रतिकृया तथा कार्यवाही) मा आधारित मापदण्ड तयार गरि लागू गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

साथै सडक दुर्घटना न्यूनीकरणको लागि उपत्यकाका १८ वटा नगरपालिकारुसँग समन्वय तथा सहकार्य गरिने कार्यक्रममा रहेको छ ।


Back_to_top