काठमाडौं । हिटेड र भेन्टिलेटेड सिट सुविधा भएको आरफक्स टी-वान नेपाली बजारमा आगामी सोमबार सार्वजनिक हुने भएको छ । नेपालको लागि बीएआईसीको आधिकारीक बिक्रेता लक्ष्मी मोटरहबले यसलाई बजारमा ल्याउन लागेको हो ।
हिटेड र भ्यान्टिलेटेड सिट सहित आउने ४.३ मिटर लामो क्रसओभर ह्याचव्याक मोडलको एलभी-३ भेरियन्ट बजारमा आउन लागेको हो ।
आरफक्स टी-१ मोडल बिभिन्न पाँच फरक रंग अप्सनमा आउन लागेको छ । आकर्षक डिजाइन, आधुनिक प्रविधि र ४० लाखभन्दा कम मूल्यमै आउन लागेका कारण यसले बजारमा राम्रै चर्चा पाउन थालिसकेको छ ।
आकारका हिसाबले आरफक्स टी-१ को लम्बाइ ४३३७ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७३ एमएम रहेको छ । यसमा २७५० एमएम लामो ह्विलबेस भएकाले फराकिलो केबिन स्पेस पाउन सकिन्छ । यसमा १८१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । ह्याचव्याक कारको लागि नेपाली सडक अनुसार यो उपयुक्त देखिन्छ ।
नेपाल आएको आरफक्स टी-१ को एलभी ३ भेरियन्टमा ७० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । जसले १७० न्यूटन मिटर टर्क उत्पादन गर्छ । यसमा ४२.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई एकपटकको फुलचार्जमा ३१० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टले देखाएको छ । गाडीको अधिकतम गति प्रतिघण्टा १४० किलोमिटर रहेको छ ।
चार्जिङ क्षमताको कुरा गर्दा, डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २५ मिनेट लाग्छ । त्यस्तै, ७ किलोवाट एसी चार्जर प्रयोग गर्दा पूर्ण चार्ज हुन करिब ८ घण्टा समय लाग्ने बताइएको छ ।
आरफक्स टी-१ को अर्को बलियो पक्ष प्रविधिमैत्री र फिचरयुक्त केबिन हो । यसमा १५.६ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ६ स्पीकर अडियो सिस्टम, भ्वाइस कन्ट्रोल, इजीलिङ्क, एप्पल कारप्ले, अगाडिका यात्रुका लागि ६६ वाटको सुपर फास्ट चार्जिङ र पछाडिका यात्रुका लागि २७ वाटको यूएसबी टाइप-सी चार्जिङ पोर्ट उपलब्ध छन् ।
ड्राइभिङ अनुभवलाई थप सहज बनाउन यसमा इको, कम्फर्ट, स्पोर्ट र पर्सनलाइज्ड गरी चारवटा ड्राइभिङ मोड दिइएको छ ।
सुरक्षातर्फ पनि कम्पनीले कुनै सम्झौता नगरेको देखिन्छ । एलभी ३ भेरियन्टमा एडास प्रविधिअन्तर्गत लेन डिपार्चर वार्निङ, क्रुज कन्ट्रोल र अटोमेटिक पार्किङ जस्ता सुविधा उपलब्ध छन् । साथै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबीएस, ईबीडी, ईएसपी, चार एयरब्याग, हिल होल्ड कन्ट्रोल, अगाडि/पछाडि पार्किङ सेन्सर, रिभर्स पाथ ट्रेस तथा सिटबेल्ट रिमाइन्डर लगायतका सुरक्षा फिचर पाउन सकिन्छ ।

