काठमाडौं । हिरो मोटोकर्पको इलेक्ट्रीक ब्राण्ड भिडाले आफ्नो लोकप्रिय इलेक्ट्रीक स्कुटर भिडा भीएक्स २ को नयाँ गो एफबी भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीले फिक्स्ड ब्याट्रीप्याक भएको नयाँ नयाँ गो एफबी भेरियन्ट भारतीय बजारमा बिक्री सुरु गरेको होे । कम्पनीले भिडा २ गो एफबी भेरियन्टको मूल्य १ लाख १३ हजार भारु (एक्स शोरुम) तोकेको छ ।
नयाँ भीएक्स २ गो एफबी पहिलैबाट बिक्री भइरहेको भीएक्स २ गो भेरियन्टभन्दा ठूलो ब्याट्री भेरियन्टमा बजारमा आएको हो । यसअघि भीएक्स २ गो भेरियन्टमा २.२ किलोवाट आवरको ब्याट्री थियो । अब नयाँ भेरियन्टमा भने कम्पनीले ब्याट्री क्षमता बढाएर ३.१ किलोवाट आवर क्षमतामा ल्याएको हो ।
कम्पनीले नयाँमा रिमुभेबल ब्याट्री सिस्टम भने हटाएर फिक्स्ड ब्याट्री विकल्प दिएको छ । जसलाई सिधै प्लगमार्फत चार्ज गर्न सकिन्छ । यो स्कुटरमा प्रयोग भएको ३.१ किलोवाट आवर क्षमताको ब्याट्रीले आइडीसी प्रमाणित १२८ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा स्विङआर्म माउण्टेड ६ किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जुन पुरानो भीएक्स २ गो भेरियन्टकै बराबर हो । यसको टप स्पीड ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।
भीएक्स २ गो एफबीमा ४.३ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जसमा स्मार्टफोन ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन सुविधा उपलब्ध छ । साथै, फास्ट चार्जर सपोर्ट सिस्टम, २७.२ लिटरको अण्डर–सिट स्टोरेज, लामो सिंगल–पिस सिट, पूरा एलईडी लाइट सेटअप, स्मार्ट कनेक्टिभिटी सिस्टम, ओटीए अपडेट, एप सपोर्ट, कम्बाइण्ड ब्रेकिङ सिस्टम, रिभर्स मोड, चार्जिङ पोर्ट, अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर मोनोसक जस्ता फिचरहरू छन् ।
भिडाको भीएक्स २ नयाँ फिक्स्ड ब्याट्री भेरियन्ट थपिएसँगै अब भारतमा ५ वटा भेरियन्ट र चार फरक ब्याट्री विकल्प सहित उपलब्ध भएको छ ।
नेपालमा पनि गत साता भिडा ब्राण्ड लन्च भएको छ । नेपाली बजारमा सिजी मोटर्सले भिडा अन्तर्गतको भीएक्स २ गो र प्लस दुई भेरियन्टको बिक्री थालेको हो ।
नेपालमा उपलब्ध गो भेरियन्टमा २.२ किलोवाट आवर र प्लसमा ४.४ किलोवाट आवरको ब्याट्री पाइन्छ । गो भेरियन्ट भिडाको सबैभन्दा सानो र प्लस सबैभन्दा ठूलो भेरियन्ट हो । यी दुई स्कुटरले क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर रेन्ज दिन्छन् ।


