काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग तीव्र गतिमा बढिरहेको छ । बिक्री हुने नयाँ निजी कारमा ईभीको हिस्सा ७० प्रतिशत पुगिसकेको छ । दुईपाँग्रे र सार्वजनिमा पनि क्रमशः बढ्दो छ ।
नयाँ ईभी किन्न बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण पाइने अवस्था छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार हाल गाडीको मूल्यको ६० प्रतिशतसम्म कर्जा पाइन्छ । बैंकहरूले ७ वर्षसम्मका लागि ऋण दिन्छन् ।
ईभीको प्रयोग र बिक्रीले रफ्तार समातिरहँदा यसको रिकण्डिसन बजार भने निकै सुस्त छ । अर्थात् एक हिसाबमा अझै पुराना ईभी बेच्न सक्ने अवस्था छैन । बिकिहाले पनि निकै कम मूल्यांकन पाइन्छ ।
यस हुनुको प्रमुख कारण हो, बैंक तथा वित्तीय संस्थाले रिफाइनान्स नगर्नु । नयाँ ईभी किन्न सहजै ऋण दिने बैंकहरू पुराना ईभीमा लगानी गर्न हिच्किचाउँदै आएका छन् । बैंकमा पैसा थ्रुप्रिएको अवस्थामा माग आए पनि लगानी गर्न इच्छुक देखिएका छैनन् । ईभीको बजार परिपक्क बनिनसकेको र इको सिस्टम विकास नभएकाले रिकण्डिसन ईभीमा लगानी गर्नु जोखिमयुक्त देखिएको बैंकरहरूको भनाइ छ ।
यसैबीच, एनएमबी बैंकले पुराना ईभी किन्न कर्जा दिन सुरू गरेको छ । अधिकांश बैंकले कर्जा लगानी गर्न हिच्किचाइरहेको बेला एनएमबीले भने जोखिम मोलेरै रिकण्डिसन ईभीमा रिफाइनान्सकाे सुरुआत गरेको हो ।
एनएमबी बैंकका बिजनेस प्लानिङ म्यानेजर सुजन ढुंगानाले बजार माग अनुसार ईभीमा रिफाइनासिङ सुरू गरिएको बताए । उनले नेपालको ईभी बजार परिपक्क भइनसके पनि रिकण्डिसन ईभीमा रिफाइनान्स आवश्यक रहेको र बजारमा उच्च माग रहेकाले आफूहरूले सुरूआत गरेको उनले बताए ।
ईभीमा रिफाइनान्स गर्न राष्ट्र बैंकको गाइडलाइनले नरोकेकाले संचालक समितिबाट निर्णय गराएर कर्जा दिन थालिएको उनले बताए । यद्यपि, जोखिम धेरै भएकाले कर्जा लगानी गर्दा शर्तहरू कडा राखिएको उनको भनाइ छ ।
‘नेपालमा ईभीको प्रयोग व्यापक रूपमा बढिरहेको छ । सँगसँगै अर्लि एडप्टर कस्टुमरको संख्या पनि बढ्दो छ । यस्तोमा आफूसँग भएको पुरानो गाडी बेचेर लेटेस्ट ईभी किन्न खोज्ने धेरै छन् । तर, पुराना ईभी सजिलै बिक्ने र किन्न खोज्ने ग्राहकले सहजै कर्जा पाइरहेको देखिँदैन,’ उनले मेरोअटोसँग भने, ‘त्यसैलाई मध्येनजर गर्दै हामीले रिकण्डिसन ईभीमा पनि कर्जा उपलब्ध गराउन सुरू गरेका हौं । सम्भवतः पुराना ईभीका कर्जा दिने एनएमबी नेपालकै पहिलो बैंक हो ।’
एनएमबीको यो प्रयासले नेपालमा ईभीको प्रयोग बढाउन, ग्रीन मोबिलिटीको विकास र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग गर्ने उनको भनाइ छ ।
५ वर्षसम्म पाइने
सामान्यतया बैंक तथा वित्तीय संस्थाहरूले नयाँ गाडी किन्न ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउँछन् । पुराना ईभीको हकमा भने ५ वर्षका लागि मात्रै कर्जा उपलब्ध गराइने उनले बताए ।
उनका अनुसार ईभीको ब्याट्री र मोटरको वारेन्टीका आधारमा कर्जा उपलब्ध गराइने छ । यसमा ‘रिमेनिङ वारेन्टी इयर माइनस वान इयर’ फर्मुला लगाइएको उनले बताए । अर्थात् गाडीको ब्याट्री र मोटरको वारेन्टी जति वर्ष बाँकी छ, सोभन्दा १ वर्ष कम अवधिका लागि कर्जा पाइने छ ।
उदाहरणका लागि कुनै पनि ईभीको ब्याट्री र मोटरमा कम्पनीले ८ वर्षको वारेन्टी दिएको छ । उक्त गाडी ३ वर्ष पुरानो भइसक्यो । उक्त गाडीको वारेन्टी ५ वर्ष बाँकी रहन्छ । ग्राहकले अब उक्त ईभी किन्न वारेन्टीभन्दा १ वर्ष कम अर्थात् ४ वर्षका लागि कर्जा पाउने छन् ।
त्यस्तै, ब्याट्रीको लाइफ हेल्थ कम्तीमा ८० प्रतिशत हुनुपर्नेछ । आधिकारिक सर्भिस सेन्टरले सर्टिफाइड गरेको ३० दिन म्याद ननाघेको पत्रलाई मान्यता दिइने उनले बताए । लोन स्वाप गर्ने ईभीको हकमा ब्याट्रीको लाइफ हेल्थ ९० प्रतिशत हुनुपर्ने उनले बताए ।
साथै, कर्जा पाउनका लागि खरिद गर्न लागिएको ईभी उत्पादन भएको १० वर्ष ननाघेको र अटो प्लस इन्स्योरेन्स अनिवार्य गरिएको उनले बताए ।
नेपालमा उपलब्ध अधिकांश मुख्य ब्राण्डका पुराना ईभी किन्न कर्जा दिइने उनले बताए । यद्यपि, कम्पनीले उत्पादन बन्द गरेका मोडलले भने कर्जा नपाउने उनको भनाइ छ । कर्जा उपलब्ध गराउँदा सोही गाडी धितोको रूपमा राखिने छ ।
३५ लाखसम्म पाउने
हालका लागि रिकण्डसन ईभीको हकमा ३५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उनले बताए । राष्ट्र बैंकको नियम अनुसार कुनै पनि खवारी खरिद गर्न मूल्यको (लोन टु भ्यालु रेसियो) ६० प्रतिशतसम्म कर्जा पाइन्छ ।
तर, एनएमबीले पुराना ईभीमा आधिकारिक रिकण्डिसन हाउसले मूल्यांकन गरेको मूल्यको ५५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने उनले जानकारी दिए । यस्तो कर्जाको अधिकतम सीमा ३५ लाख कायम गरिएको छ । यद्यपि, ग्राहकको क्रेडिट हिस्ट्रि र थप शर्त पूरा गर्दा ६० लाखसम्म कर्जा पाउने उनको भनाइ छ ।
‘राष्ट्र बैंकको गाइड लाइन अनुसार लोन टु भ्यालु रेसियो ६० प्रतिशत छ । तर, ईभीको रिकण्डिसन मार्केट परिपक्क भइनसकेकाले हामीले आधिकारिक मूल्यांकनको ५५ प्रतिशतसम्म मात्र लगानी गर्ने नीति लिएका छौं,’ उनले भने, ‘रकममा आधारमा हाललाई ३५ लाखसम्म कर्जा दिन्छौं ।’
कति ब्याजदर
एनएमबीले बेसरेटमा न्यूनतम ०.७५ प्रतिशतदेखि अधिकत २.५ प्रतिशतसम्म प्रिमियम जोडेर यस्तो कर्जा उपलब्ध गराउँछ । हाल एनएमबीको बेसरेट ५.११ प्रतिशत छ । सो आधारमा ग्राहकले न्यूनतमक ५.८६ प्रतिशतदेखि ७.६१ प्रतिशत ब्याजदरमा पुराना ईभी किन्न कर्जा पाउने छन् । ग्राहकले यो कर्जामा ०.७५ प्रतिशत सेवाशुल्क तिर्नुपर्ने बैंकले जनाएको छ ।
के के चाहिन्छ कागजात ?
रिकण्डिसन ईभी खरिद गर्न कर्जा लिन नयाँ गाडी किन्न आवश्यक पर्ने सबै कागजात चाहिन्छ । ग्राहकको आम्दानी स्रोत, नागरिकता, स्थायी लेखा नम्बर, एकप्रति फोटो आवश्यक पर्छ । साथै, गाडीको सर्भिस बुक, ईभीको आधिकारिक मूल्यांकन, आधिकारिक डिलर/सर्भिस सेन्टरबाट प्रमाणित ब्याट्री हेल्थ सर्टिफिकेट आवश्यक पर्नेछ ।
कम्पनीको हकमा दर्ता प्रमाणपत्र, अडिट रिपोर्ट, कर चुक्ता प्रमाणपत्र, व्यवसायको प्रोजेक्सन रिपोर्ट आवश्यक पर्नेछ । ग्राहकले सबै कागजी प्रक्रिया पूरा गरेको १ देखि २ कार्यदिन भित्र कर्जा स्वीकृतपत्र/डेलिभरी अर्डर पाउने छन् ।


