चीनले बनायो सोडियम आयन ब्याट्रीबाट चल्ने विश्वकै पहिलो ईभी माइनिङ ट्रक

काठमाडौं । न्यू इनर्जी भेहिकलमा विश्वमै उदाहरणीय बनिरहेको चीनले सोडियम आयन ब्याट्री प्रविधिलाई हेभी सवारीमा प्रयोग गर्दै नयाँ फड्को मारेको छ ।

यसै क्रममा, चीनको सोडियम आयन ब्याट्री निर्माता कम्पनी हिना ब्याट्री र सान्सी टोनली हेभी इन्डस्ट्रिजले सोडियम आयन ब्याट्रीबाट चल्ने विश्वकै पहिलो प्योर इलेक्ट्रीक खानी ट्रक निर्माण गरी हस्तान्तरण गरिएको हो ।

यो ट्रक गत जुलाईमा ताङसानस्थित सानयु ग्रुपको एकाइ सानयु माइनिङलाई हस्तान्तरण गरिएको हो।

टोनलीको १२०ई सिरिज प्लेटफर्ममा आधारित यो गाडीमा हिना ब्याट्रीले आफैँ विकसित गरेको हाइसिङ सिरिजको कुल ६७६ किलोवाट आवरको ब्याट्री छ ।

मार्च २०२५ मा सार्वजनिक गरिएको यो ब्याट्रीको सेल ऊर्जा घनत्व १६५ वाट आवर÷प्रतिकेजीभन्दा बढी छ । यो ब्याट्री मात्र २० देखि २५ मिनेटमा पूर्ण रूपमा चार्ज हुनसक्छ। फास्ट चार्जिङ मोडमा प्रयोग गर्दा पनि यसको चक्र जीवन ८,००० चक्रभन्दा बढी रहने कम्पनीको दाबी छ।

खानी क्षेत्रको अत्यधिक धुलो, कडा वातावरण र तापमानको उतार चढावलाई ध्यानमा राखेर यो प्रविधि डिजाइन गरिएको छ। यसअघि एफएडब्लू जिएफाङसँग गरिएको परीक्षणमा यो ब्याट्रीले माइनस ४० डिग्री सेल्सियसको अत्यधिक चिसोमा पनि ९० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सफल भएको थियो।

व्यावसायिक सवारी साधनको क्षेत्रमा यो वर्ष हिना ब्याट्रीको यो दोस्रो ठूलो कदम हो। जुनमा, एफएडब्लू जिएफाङले हिना ब्याट्रीसँग मिलेर विकसित गरेको सोडियम आयन ब्याट्री भारी ट्रकको व्यवस्थित सडक परीक्षण पूरा गरेको थियो।

परीक्षण गरिएको सवारी साधन जिएफाङ जे६पी पूर्ण विद्युतीय ट्रयाक्टर थियो । जसले ३३९ किलोवाट आवरको सोडियम आयन ब्याट्री बोकेको थियो । यसले लगभग सात महिनामा १५ हजार किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो।उद्योगले लागत र कार्यक्षमताबीच सन्तुलन कायम गर्ने लिथियमको विकल्प खोजिरहेकाले चीनमा सोडियम आयन ब्याट्रीको व्यवसायीकरण गर्ने होडबाजी चलिरहेको छ।

सीएटीएलले मे महिनामा फुजियानमा ४० गेगावाट अवर नयाँ सोडियम आयन ब्याट्री क्षमता निर्माण गर्न ५ अर्ब युआन लगानी गर्ने योजना रहेको खुलासा गरेको थियो।

बीवाईडीले १० हजार लाइफ साइकल भएको सोडियम आयन ब्याट्री विकसित गरेको बताएको छ । जबकि बीएआइसी ग्रुपले १७० वाट आवर/प्रतिकेजीभन्दा बढी ऊर्जा घनत्व भएका नमूनाहरू सार्वजनिक गरेको छ।

सोडियम आयन ब्याट्रीको लागत अझै पनि मुख्य बाधाको रूपमा रहेको छ । हिना ब्याट्रीका महाप्रबन्धक ली सुजुनले मार्चमा सोडियम आयन ब्याट्रीको मूल्य हाल प्रतिवाट आव ०.५ युआनदेखि ०.७ युआन रहेको बताएका थिए । जुन लिथियम ब्याट्रीको ०.३ युआनदेखि ०.५ युआनभन्दा बढी हो ।


Back_to_top