भारतमा नयाँ सवारीमा ‘V2V’ संचार प्रविधि अनिवार्य गरिँदै

काठमाडौं । भारतको सडक परिवहन तथा राजमार्ग मन्त्रालयले सबै नयाँ सवारी साधनहरूमा भेहिकल टु भेहिकल (भीटुभी) सञ्चार प्रणाली अनिवार्य गर्ने प्रस्ताव गरेको छ।

मन्त्रालयले एक मस्यौदा सार्वजनिक गर्दै २०२८ अक्टोबर १ देखि उत्पादन हुने दुईपाँग्रे, यात्रुवाहक र कमर्शियल (एल, एम र एन वर्ग) सबै सवारीमा यो प्रविधि अनिवार्य गर्ने प्रस्ताव गरेको हो ।

यसका लागि केन्द्रीय सवारी साधन नियम १९८९ मा संशोधनको प्रस्ताव गरिएको छ । नयाँ नियम १ अक्टोबर २०२८ देखि सबै नयाँ सवारीमामा अनिवार्य हुने भए पनि गाडी उत्पादकहरुले २०२७ अक्टोबर १ देखि नै स्वेच्छिक रूपमा जडान गर्न सक्नेछन् । त्यसका लागि नयाँ अटोमोटिभ उद्योग मानक ‘एअइएस २३०’ को पालना गर्नुपर्नेछ ।

मन्त्रालयले भीटुभी सञ्चार प्रणालीका लागि न्यूनतम प्राविधिक, कार्यात्मक, कार्यसम्पादन, वातावरणीय र साइबर सुरक्षा आवश्यकताहरू तय गरेको छ । जसमा रेडियो कार्यसम्पादन, रिसिभरको संवेदनशीलता र छनोट क्षमता, ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम र पोजिसनिङ आवश्यकताहरू, विद्युतीय र ऊर्जा आपूर्ति आवश्यकताहरू, इलेक्ट्रोम्याग्नेटिक इन्टरफिरेन्स र कम्प्याटिबिलिटी, साइबर सुरक्षा र सञ्चार सुरक्षा, एवं सडक सुरक्षा अनुप्रयोगहरूका लागि कार्यसम्पादन आवश्यकताहरू समावेश छन्।

यो प्रणाली ५.८७५ गेगाहर्जदेखि ५.९२५ गेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डमा काम गर्ने ‘सेलुलर भेहिकल टु एभ्रिथिङ’ प्रविधिमा आधारित हुनेछ । भारतीय दूरसञ्चार विभागले यसअघि नै यस स्पेक्ट्रमको प्रयोगलाई लाइसेन्स मुक्त गरिसकेको छ।

यो मापदण्डले इमर्जेन्सी ब्रेक अलर्ट, फर्वाड कोलिजन वार्निङ, रङ वे ड्राइभिङ अलर्ट र इमर्जेन्सी भेहिकल अलर्ट जस्ता सुरक्षा अनुप्रयोगहरूलाई पनि परिभाषित गर्दछ । जसले सवारी साधनहरूलाई रियल टाइम जानकारी आपसमा साटासाट गर्न र चालकहरूलाई सम्भावित खतराहरूप्रति सतर्क गराउन सक्षम बनाउँछ ।

भीटुभी सञ्चार भनेको के हो?

यो प्रविधिले भीटुभी सञ्चार प्रणाली जडान भएका सवारी साधनहरूलाई गति, स्थिति, दिशा र एक्सिलेरेसन जस्ता रियल टाइम जानकारीहरू ताररहित रूपमा आपसमा साटासाट गर्न सक्षम बनाउँछ।

परम्परागत एडभान्स ड्राइभर असिस्टन्स सिस्टम क्यामेरा, राडार, अन्य अनबोर्ड सेन्सर र चालकको इनपुटमा निर्भर रहने भए तापनि भीटुभी ले सेलुलर भेहिकल -टु-एभ्रिथिङ प्रविधिको प्रयोग गरी सवारी साधनहरूलाई आपसमा सीधै सञ्चार गर्न अनुमति दिन्छ।

यसले चालकलाई तत्काल सम्भावित खतराहरू पनि द्रुत रूपमा पहिचान गर्न सक्षम बनाउँछ। मन्त्रालयका अनुसार यसले एडासलाई पूरकको रूपमा सहयोग गर्ने र दुर्घटनाको पूर्व रोकथाम, कनेक्टेड मोबिलिटी यातायात अनुप्रयोगहरूलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

मन्त्रालयले यो प्रविधिले एक्कासी ब्रेक लगाउने अवस्था, अगाडि ठोक्किने जोखिम, असुरक्षित रूपमा लेन परिवर्तन गर्ने र आपत्कालीन सवारी साधनहरू नजिकिँदै गरेको अवस्थाहरूमा चेतावनी दिन सक्ने पनि बताएको छ।

कार्यान्वयनमा चुनौती

यो प्रस्तावले भारतमा भीटुभी सञ्चार प्रणाली भित्र्याउने एक ठूलो कदम भए पनि चुनौतीपूर्ण छ । गाडी उत्पादकले आफ्ना उत्पादन लाइनअपका विभिन्न मोडलहरूमा यी प्रणालीहरू एकीकृत र प्रमाणित मात्र होइन, फरक फरक निर्माताहरूका सवारी साधनहरू बिच यी प्रणालीहरूले सोचे अनुसार काम गर्छन् भन्ने सुनिश्चित पनि गर्नुपर्ने हुन्छ ।

लागतको हिसाबले अघिल्ला अनुमानहरूले अन बोर्ड युनिटहरूले प्रत्येक सवारी साधनको लागतमा करिब भारू ५ हजारदेखि ७ हजारसम्म थप्न सक्ने देखाएका थिए । यद्यपि पछिल्लो मस्यौदा सूचनाले भीटुभी प्रविधि एकीकृत गर्दा लाग्ने लागतको पाटोलाई समेटेको छैन। साथै, बलियो साइबर सुरक्षा उपायहरूको आवश्यकता पर्नेछ ।


Back_to_top