काठमाडौं । चीनसँगको व्यापार गर्ने सबैभन्दा ठूलो नाका रसुवागढी लगातार दोस्रो वर्ष ठूलो प्राकृतिक विपत्तिको चपेटामा परेको छ । भोटेकोशीमा आएको भीषण बाढीले करिब ७० किलोमिटर लामो नदीकिनार क्षेत्रमा बसेका शहर, सडक, पुल, भन्सार कार्यालयदेखि करिब ४५० मेगावाट विद्युत क्षमताका हाइड्रो पावर तहसनहस भयो ।
नेपालतर्फको मात्रै होइन चीनतर्फको बन्दगाह पनि ध्वस्त भयो । हजारौं मानिस हराइरहेका छन् । मृत्यु भएका र हराइरहेका मानिसको संख्या पनि दिनदिनै बढिरहेको छ । विपत्तिको २५ दिन बित्दा पनि दैनिक मानवीय क्षतिको संख्या थपिँदै गएको छ ।
यस विपदले निम्त्याएको आर्थिक क्षतिको सवा ७ खर्बभन्दा माथि रहेको प्रारम्भिक अनुमान छ । यसका बीच यहाँ चर्चा गर्न खोजिएको विषय भन्सार यार्डमा राखिएका सयौं सवारीसाधन बगाएको हो ।
यस घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ ? के रसुवागढी चीनसँग व्यापार गर्न भरपर्दो नाका हो ? कि अत्यधिक जोखिमयुक्त ‘कन्सन्ट्रेटेड स्टोरेज जोन’ ?
गत वर्ष असार २३ गते आएको बाढीमा रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका नयाँ विद्युतीय गाडी, ट्रक र कन्टेनरहरू बगाएको थियो । त्यो क्षतिको असर अटोमोबाइल व्यवसायमा मात्रै सीमित भएन । समग्र अर्थतन्त्रमा नै असर पुग्यो ।

गत वर्षको घटनाले नै रसुवागढीमा प्राकृतिक विपत्तिले अटो व्यवसायमा कति ठूलो वित्तीय जोखिम सिर्जना गर्न सक्छ भन्ने देखाइसकेको थियो । तर, त्यसबाट न सरकारले सिक्यो, न व्यवसायीले सिके । व्यवस्थित पार्किङसमेत नभएको स्थानमा सयौंको संख्यामा गाडी ल्याएर थुपार्ने काम भयो । सरकारले पनि आएका गाडीलाई गन्तव्यमा पठाउनुभन्दा होल्ड गरेर राख्ने काम गर्यो ।
भोटेकोशीमा आएको यसपटकको बाढीले रसुवागढी भन्सार क्षेत्रका सयौं सवारीसाधन बगाएको प्रारम्भिक विवरण आएका छन् । देशमा दुई ठूला अटो शो चलिरहेको र गाडी बुकिङ पनि राम्रो संख्यामा भएको कारण चाडपर्व लक्षीत गाडीहरू धमाधम आउन थालेका थिए । हालसम्म ३१५ सवारीमा क्षति पुगेको भन्दै १ अर्ब ५५ करोड रुपैयाँ बीमा दाब्ी परिसकेको छ ।
बीवाइडी, एमजी, बीएआइसी, आइकार, जेको, नामी लगायत ब्राण्ड कारहरू धेरै हराइरहेका छन् । त्यस्तै रसुवागढी नाकाबाट विद्युतीय लाइट कमर्शियल भ्यानहरू पनि आयात हुने भएकाले त्यस्ता गाडी पनि धेरै परेका छन् । सामान बोक्ने कन्टेनरदेखि मालबाहक ट्रक, बस र ठूलो संख्यामा निजी कारहरू पनि परेका छन् ।
अटो व्यवसायमा कति ठूलो धक्का ?
रसुवागढी हुँदै नेपाल भित्रिने सवारीसाधनको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको थियो । विशेषगरी चिनियाँ विद्युतीय गाडीको आयात बढेसँगै यो नाका अटो व्यवसायका लागि अझ महत्वपूर्ण बन्दै गएको हो ।
चीनबाट गाडी आयात गर्न निकै सहज मानिने यो नाकामा लामो समय गाडी होल्ड हुन थालेको धेरै वर्ष भइसक्यो । भन्सार प्रक्रिया, कागजी प्रक्रिया, जाँचपास र ढुवानीको प्रतीक्षामा सयौं गाडी नदी किनार आसपास थुप्रँदै आएका थिए ।

यसरी आएको विनाशकारी बाढीले आयातकर्ता, डिलर, बैंक तथा फाइनान्स कम्पनी, बीमा कम्पनी र सरकारको राजस्व सबैमा ठूलो असर गरेको देखिन्छ ।
दोहोरिँदै जोखिम
व्यवसायिक दृष्टिले सबैभन्दा गम्भीर पक्ष भनेको एक वर्ष नपुग्दै त्यही क्षेत्रमा फेरि ठूलो क्षति हुनु हो । गत वर्षको बाढीपछि रसुवागढीको भौगोलिक जोखिमबारे धेरै प्रश्न उठेका थिए । तर, गाडी आयात र अन्य सामान आयातको संरचनामा त्यसअनुसार ठूलो परिवर्तन देखिएन । त्यसैले त यसपटक पनि ठूलो संख्यामा सवारीसाधन त्यही क्षेत्रमा आएर थुप्रिए । विपत्ति आयो, बगाएर लग्यो ।
यसपटकको बाढीले रसुवागढीमा मात्रै सीमित रहेन । मुग्लिनसम्म नै यसले विनाश ल्यायो । सडक पूर्वाधार र पुलहरू क्षतिग्रस्त हुँदा ढुवानी अवरोध, स्टक होल्डिङ, डेमरेज, ब्याज खर्च, डेलिभरी ढिलाइ र बजारमा नयाँ गाडीको आपूर्ति समेत खल्बलायो ।
रसुवागढी नाका र जोखिम व्यवस्थापन
रसुवागढी नाका तत्काल बन्द गरेर वैकल्पिक नाका खोज्ने विषय व्यावहारिक समाधान होइन । चीनसँगको व्यापारका लागि यसको रणनीतिक महत्व ठूलो छ । जुन पछिल्ला केही वर्षमा खुलेको नाका पनि होइन । भोटसँगको व्यापार नै यही नाकाबाट हुन्थ्यो । तर, अटोमोबाइल आयातका लागि एउटै क्षेत्रमा सयौं गाडी लामो समयसम्म राख्ने प्रणाली भने पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

अब सरकार र व्यवसायीले नयाँ तरिकाबाट यो नाकालाई संचालनमा ल्याउन पहल गर्नुपर्छ । सबैभन्दा पहिला भन्सार यार्डको जोखिम मूल्यांकन गर्ने र सयौं गाडी खोला किनारमा थुपार्नुको सट्टा सिधै चोभार ल्याउने वातावरण बनाउनु पर्छ ।
अहिले चीनसँग व्यापार हुने कोरोला, रसुवागढी र तातोपानी नाका सबै जोखिमपूर्ण स्थानमै छन् । त्यसैले गाडी होस् वा अन्य सामान आयात गर्दा काठमाडौंको भन्सार यार्ड प्रयोग गर्न सकेको खण्डमा जोखिम कम हुन्छ ।
अटो बजारले के सिक्ने ?
रसुवागढीको लगातारको घटनाले निकै महत्वपूर्ण सन्देश दिएको छ । सस्तो र छोटो आयात मार्ग मात्रै व्यवसायमा पर्याप्त हुँदैन, सुरक्षित र दिगो सप्लाइ चेन पनि चाहिन्छ ।
नेपालमा चिनियाँ ईभीको बजार तीव्र गतिमा विस्तार भइरहेको छ । त्यससँगै रसुवागढी जस्ता नाकाको रणनीतिक महत्व पनि बढ्दै जानेछ । तर, प्राकृतिक जोखिमलाई बेवास्ता गरेर हुने व्यवसायले ठूलो क्षति सृजना गर्न सक्छ । त्यसमा सबै पक्ष सचेत हुन जरुरी छ ।

