काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय सानो सेडान कार टिगोरको नयाँ फेसलिफ्ट मोडल चाँडै बजारमा ल्याउने भएको छ । कम्पनीले यही फेस्टिभ सिजनमा टिगोर फेसलिफ्टलाई नयाँ नाममा ल्याउने तयारी गरेको हो ।
कम्पनीले आधिकारिक घोषणा नगरे पनि रिपोर्टहरु अनुसार टाटाले टिगोरको नाम परिवर्तन गरी ‘टाटा एरिस’ राख्ने दाबी गरिएको छ । यसले टाटाको लाइनअपमा टिगोरलाई विस्थापित गर्ने बताइएको छ ।
कम्पनीले यसअघि बजारमा ल्याएको ‘टियागो ईभी’को सफलतालाई निरन्तरता दिँदै टाटाले नयाँ सेडानको प्योर इलेक्ट्रीक मोडल ‘एरिस ईभी’ पनि बजारमा उतार्ने योजना बनाएको छ।
टाटा एरिसको बनावट यसै वर्षको सुरूमा सार्वजनिक गरिएको टियागोको नयाँ स्वरूपबाट प्रभावित हुने अपेक्षा गरिएको छ। यसको अगाडिको भाग पूर्ण रूपमा नयाँ हुनेछ । जसमा पातलो ग्रिल, नयाँ आकर्षक बम्पर र तल्लो भागमा फोग ल्याम्पहरू रहनेछन्। यो सेडानमा डीआरएल सहितको सबै एलईडी लाइट सेटअप रहने सम्भावना छ ।
टाटा टिगोर जस्तै एरिसमा पनि परम्परागत थ्री बक्स सेडानको सट्टा नचब्याक शैली कायम राखिनेछ । यसमा नयाँ १५ इन्चको अलोय ह्वीलहरू रहने अपेक्षा गरिएको छ। पछाडिको भागमा नयाँ टेलगेट र आपसमा जोडिएको एलईडी टेलल्याम्प सेटअप पाइने आशा गरिएको छ। ठाडो रिफ्लेक्टरहरू र एरिस अक्षर लेखिएको नयाँ आकर्षक बम्परले यसको लुकलाई पूर्णता दिनेछ ।
कम्पनीले ग्राहकहरूलाई उत्कृष्ट र प्रिमियम क्याबिनको अनुभव दिने लक्ष्य राखेको छ। एरिसमा नयाँ गुणस्तरीय सामग्री, बनोट र फिनिसिङ प्रयोग गरिनेछ। यसको ड्यासबोर्डको डिजाइन टाटा टियागोको जस्तै दुईवटा अलग्गै स्क्रीन र तेर्सो डिजाइनका एलिमेन्टहरु हुने छन् । यद्यपि यसको रङको संयोजन भने फरक हुनेछ।
यसमा टियागोमा उपलब्ध गराइएका जस्तै सुविधाहरू रहने अपेक्षा गरिएको छ। टाटा एरिसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले समर्थन गर्ने १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट युनिट, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ उपलब्ध हुन सक्छ।
एरिसमा ५ स्पीड म्यानुअल वा ५ स्पीड अटेमिटक गियरबक्ससँग जोडिएको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन नै रहनेछ। यस इन्जिनले ८६ हर्ष पावर र ११३ न्युटन मिटर टर्क उत्पन्न गर्नेछ । ईभी मोडलको बारेमा केही जानकारी बाहिरिएको छैन ।

