अब ४० रुपैयाँमा घरमै लाइसेन्स डेलिभरी ! सम्झौताको तयारी

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) व्यवस्थित रूपमा घरमै डेलिभरी गर्ने तयारी थालेको छ ।

चैत १३ गते बसेको बालेन शाह मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची पारित गर्दै पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू हुलाक मार्फत घरमै पुर्याउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागले सोही निर्णय कार्यान्वयनको आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको हो ।

विभागका सूचना अधिकारी (निर्देशक) केशव खतिवडाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै घरमै लाइसेन्स डेलिभरी दिने व्यवस्था गर्न लागिएको बताए । त्यसका लागि विभागले आवश्यक अनलाइन सिस्टम तयार गरिसकेको उनले जानकारी दिए ।

चाँडै लाइसेन्स डेलिभरीका लागि हुलाक विभागसँग सम्झौता गरी कार्यान्वयनमा ल्याइने उनले बताए । हुलाकसँग यस बारे पटक पटक छलफल भइसकेकाले केही दिन भित्रै सम्झौता गर्ने तयारी रहेको उनको भनाइ छ ।

‘विभागले लाइसेन्स होम डेलिभरीका लागि आवश्यक तयारी गरिरहेको छ । सिस्टम बनाइ परीक्षण सफल भइसकेको छ । अब चाँडै हुलाक विभागसँग सम्झौता गरी कार्यान्वयनमा ल्याउने छौं,’ उनले मेरोअटोसँग भने ।

फाराम भर्दै ठेगाना राख्नुपर्ने

निर्देशक खतिवडाका अनुसार लाइसेन्स होम डेलिभरीका लागि सेवाग्राहीले फाराम भर्दै सम्बन्धित व्यक्तिको ठेगाना राख्ने व्यवस्था मिलाइने छ । सेवाग्राहीले विभागको अनलाइन सिस्टम ‘ईडीएलभीआरए’ सिस्टम मार्फत आवेदन दिँदा घरमै डेलिभरी लिने वा आफैं कार्यालयमा लिन जाने विकल्प रोज्न पाउने छन् ।

यदि, होम डेलिभरी लिने हो भने आफ्नो पूरा ठेगाना भर्नुपर्नेछ । लाइसेन्स प्रिन्ट भइसकेपछि हुलाक मार्फत सोही ठेगानामा पुर्याइने उनले बताए ।

छिटै लाइसेन्स चाहिनेले एक्सप्रेस सेवा समेत लिन सक्ने व्यवस्था मिलाइने उनले बताए । ‘लाइसेन्स होम डेलिभरी हुलाक मार्फत गरिन्छ । सेवाग्राहीले आवेदन दिँदै आफूलाई सामान्य डेलिभरी वा एक्सप्रेस सेवा चाहिएको हो, सो रोज्न पाउँछन्, सोही अनुसार डेलिभरी हुन्छ,’ उनले भने ।

यो सुविधा नयाँ लाइसेन्स, वर्ग थप र नवीकरण सबैमा लागू हुने उनले बताए । यो सेवा कार्यान्वयमा आएपछि सेवाग्राही लाइसेन्स लिन कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ ।

कति लाग्छ शुल्क ?

लाइसेन्स होम डेलिभरीका लागि सरकारले तोकेको हुलाक दर अनुसार नै शुल्क लिने गरी सम्झौताको तयारी भइरहेको निर्देशक खतिवडाले बताए । डेलिभरी शुल्क टुंगो लागि नसके पनि सामान्य डेलिभरी सेवाका लागि ४० रुपैयाँ र एक्सप्रेस डेलिभरीको ७० रुपैयाँ लिने गरी छलफल भएको उनले बताए ।

‘डेलिभरी चार्ज सरकारले तोकेको हुलाक दर अनुसार नै हुनेछ । सामान्य डेलिभरीका लागि ४० रुपैयाँ र एक्सप्रेसको ७० रुपैयाँ लिने गरी सम्झौताको तयारी भइरहेको छ,’ उनले भने ।

लाइसेन्स प्रिन्ट भइसकेपछि सेवाग्राहीले काठमाडौं नजिकमा १/२ दिनमै र टाढाका गन्तव्यमा हप्ता दिनसम्ममा लाइसेन्स डेलिभरी पाउने छन् ।


Back_to_top