सुरुङ युगमा नेपाल, यस्तो छ निर्माणाधीन ८ सुरुङको प्रगति

काठमाडौं । नेपाल सुरुङ युगमा प्रवेश गरेको छ । गत साउन ११ गतेदेखि देशकै पहिलो आधुनिक र व्यवसायिक नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनमा आएको छ ।

यद्यपि, नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा मकवानपुरको चुरियामाई सुरुङमार्गलाई लिइन्छ । उक्त सुरुङ सन् १९१७ मा राणकालमा चन्द्रशमशेरको पालामा निर्माण भएको थियो । हाल लमजुङमा माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाले बनाएको ३४० मिटर र दोलखामा अपर तामाकोशीले बनाएको ३३७ मिटर लामो सुरुङमा सवारी साधन चल्छन् । तर, यी व्यावसायिक सडक प्रयोजनका लागि बनाइएका सुरुङमार्ग होइन् । त्यसैले, व्यवसायिक र आधुनिक सुरुङमार्गको रूपमा नागढुंगालाई नै लिइन्छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरू भएको बताउँछन् । उनले नागढुंगा सुरुङ राजनीतिक इच्छाशक्ति, प्राविधिक साझेदारी र धैर्यता भए नेपाल जस्तो जटिल र कठिन भूभागमा पनि ठूला पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए ।

‘राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपाल जस्तो भौगोलिक रुपमा जटिल र कठिन भूभागमा पनि महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सकिन्छ । नागढुंगा पहिलो सुरुङ हो, तर अन्तिम भने होइन,’ उनले भने ।

हाल देशभर अरू ८ वटा सुरुङ निर्माणाधीन अवस्थामा छन् भने १ दर्जन बढी स्थानमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ । जसमा केहीको पूर्व सम्भाव्यता अध्ययन, डीपीआर, ईआइए लगायत काम समेत भइरहेको छ । पूर्वाधार विकास मन्त्रालयले चालु आवमा विभिन्न १ दर्जन सुरुङमार्गका लागि ६७ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अग्ला पहाडका बीच सडक बनाउँदा घुमाउरो र कठिन हुने भएकाले विकल्पमा सुरुङ निर्माण गरिन्छ । यसले सडककाे दुरी छोट्याइ छिटो, सुरक्षित रूपमा सवारी संचालनमा सहयाेग गर्दछ । सुरुङलाई वातावरणमैत्री आधुनिक पूर्वाधार संरचनाको रूपमा समेत लिइन्छ। विश्वमा २० औं शताब्दीको सुरुआतदेखि नै आधुनिक सुरुङ निर्माण भए पनि नेपालमा भने १ दशक अघि मात्रै थालिएको हो ।

कात्तिक भित्रै संचालनमा आउँदै सिद्धबाबा

नागढुंगा सुरुङ संचालनमा आएको ३ महिनापछि नै अर्को सुरुङमार्ग संचालनमा आउने भएको छ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ आगामी कात्तिकभित्रै संचालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको हो ।

सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख नवराज बास्तोलाका अनुसार हालसम्म उक्त सुरुङको ७० प्रतिशत काम सकिसकेको छ । ११२६ मिटर लामो यो सुरुङमार्गको लाइनिङ, इन्भर्ट लगायत भित्री निर्माणको काम सकिएको उनले बताए । सुरुङको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहेको छ ।

भेन्टिलेसन, पंखा, लाइट, संचार लगायत उपकरणहरू मात्र जडान गर्न बाँकी रहेको उनले बताए । चीनबाट मगाइएका उपकरण आइनपुग्दा जडानको काम रोकिएको उनको भनाइ छ । यो सुरुङमार्ग आगामी अक्टोबर (कात्तिक)भित्र संचालनमा ल्याउने लक्ष्य राखिएको उनले बताए । यद्यपि, आपतकालीन अवस्थामा अहिले नै प्रयोग गर्न मिल्ने उनको भनाइ छ ।

‘हालसम्म सुरुङमार्ग भित्र गर्नुपर्ने निर्माणको काम सकिएको छ । अब भेन्टिलेसन, पंखा, बिजुली बत्ती, संचार लगायत उपकरण जडान गर्न बाँकी छ,’ उनले मेरोअटोसँग भने, ‘निर्माण कम्पनीले चीनबाट उपकरण मगाएको छ । तर, मनसुनका कारण आउन केही ढिलाइ भइरहेको छ । केही सातामा आइपुग्छ होला । आएपछि करिब २ महिनामै सबै जडान भइसक्छ ।’

सुरुङमार्गबाट सवारी साधन संचालन गरेपछि मात्र बाहिरी सडक स्तरोन्नति, बाइपास सुरुङ, रकसेड र स्लोप प्रोटेक्सन लगायत कामलाई गति दिइने उनले बताए । हालसम्म स्लो प्रोटक्सनको काम २० प्रतिशत सकिएको छ भने रकसेडको डिजाइन स्वीकृतिका लागि सडक विभाग पठाइएको उनले जानकारी दिए । आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहेको छ । तर, बाहिरी काम सक्न केही समय थप्नुपर्ने देखिएको उनले बताए ।

यो सुरुङ निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड रुपैयाँमा पाएको छ । निर्माण सम्पन्न भएको १८२५ दिन सुरुङ संचालन एवम् मर्मत सम्भार पनि सोही कम्पनीले गर्नेछ ।

फास्ट ट्रयाकमा धमाधम बन्दै ७ सुरुङ

राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)मा एकैपटक ७ वटा सुरुङ निर्माण भइरहेका छन् । फास्ट ट्रयाकको कुल लम्बाइको १५.४६ प्रतिशतखण्ड सुरुङमार्ग रहेको छ । कुल ७०.७९९ किमी लामो फास्ट ट्रयाकमा कुल ११.२१० किमी लम्बाइ (एकतर्फी)का सुरुङ निर्माण भइरहेका हुन् । हरेक स्थानमा सवारी साधन जाने र आउने छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका हुन् ।

आयोजनको सुरुआती डिजाइन अनुसार ३ वटा (धेद्रे, लेनडाँडा र महादेवटार)सुरुङ बनाउने प्रस्ताव गरिएको थियो । सडक निर्माणकै क्रममा कठिन पहाडी भूभागमा सडकको सट्टा सुरुङ बनाउनु उपयुक्त हुने देखिएपछि डीपीआर संशोधन गरी थप ४ वटा सुरुङ थपिएको हो ।

नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेत अनुसार हालसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । बाँकी ५ सुरुङ खन्ने काम धमाधम भइरहेको उनले बताए ।

‘फास्ट ट्रयाकमा सुरुङ निर्माणको काम धमाधम भइरहेको छ । धेद्रे र लेनडाँडाका दुवै ब्रेक थ्रु भई लाइनिङको काम भइरहेको छ । महादेवटार र चन्द्रामभीरमा खन्ने र लाइनिङ सँगसँगै भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘देवीचौर र सिसौटारमा धमाधम खन्ने काम भइरहेको छ । मौरीभीरमा भने पोर्टलको काम हुँदैछ ।’

धेद्रे सुरुङ : १६९० मिटर लामो यो सुरुङ २ वर्ष अघि (२०८१ साउन)मै ब्रेक थ्रु गरिएको थियो । अहिले धमाधम सेकेण्डरी लाइनिङको काम भइहरेको छ । सूचना अधिकारी बस्नेतका अनुसार दाँयातर्फ १६५३ मिटरमध्ये १४२१ मिटर र बाँयातर्फ १७२८ मिटरमध्ये १२७९ मिटर लाइनिङको काम सकिएको छ । केही महिनामै लाइनिङ काम सकिने र त्यसपछि उपकरण जडान सुरू हुने उनको भनाइ छ ।

लेनडाँडा सुरुङ : लेनडाँडा फास्ट ट्रयाकमा सबैभन्दा पहिला ब्रेक थ्रु भएको सुरुङ हो । २०८१ साउनमा ब्रेक थ्रु भएको यो सुरुङमा सेकेण्डरी लाइनिङ काम समेत सम्पन्न भइसकेको सूचना अधिारी बस्नेत जानकारी दिए । अब सुरुङमार्ग भित्र आवश्यक उपकरण जडानको तयारी भइरहेको उनले बताए । यो सुरुङ बाँयातर्फ १६३३ मिटर र दाँयातर्फ १६१२ मिटर लामो छ । धेद्रे र लेनडाँडा सुरुङ निर्माणको ठेक्का पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले २८ अर्ब ५३ करोड रुपैयाँमा पाएको छ ।

महादेवटार सुरुङ : फास्ट ट्रयाक तथा नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङ खन्ने काम ८९ प्रतिशत सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उनका अनुसार असार मसान्तसम्म दायाँतर्फको ३४८६ मिटरमध्ये ३२९७ मिटर र बाँयातर्फ ३४२२ मिटरमध्ये २९३८ मिटर सुरुङ खनिसकिएको छ । दुवैतर्फबाट खन्ने काम भइरहेकाले चाँडै ब्रेक थ्रु हुने उनको भनाइ छ ।

महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइहरेको उनले जानकारी दिए । दाँयातर्फ १२८८ मिटर र दायाँतर्फ १९४३ मिटर लाइनिङको काम सकिएको छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको छ ।

चन्द्राम भीर सुरुङ : फास्ट ट्रयाकको दोस्रो लामो चन्द्राम भीर सुरुङ खन्ने काम साढे २६ प्रतिशत सकिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार बाँयातर्फ २२१३ मिटरमध्ये हालसम्म ६४८ मिटर खनिसकिएको छ । त्यस्तै, दाँयातर्फ २२६१ मिटरमध्ये ५३९ मिटर खनिसकिएको उनले बताए । यो सुरुङमा पनि सेकेण्डरी लाइनिङको काम सुरू भएको छ । बाँयातर्फ ३३ मिटर र दाँयातर्फ ६० मिटर लाइनिङ सकिएको हो ।

देवीचौर सुरुङ : डीपीआर संशोधन गरी थपिएको देवीचौर सुरुङ खन्ने काम केही महिना अघि मात्रै सुरू भएको हो । हालसम्म समग्रमा करिब ७ प्रतिशत खनिसकिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार बाँयातर्फ १०७५ मिटरमध्ये १४९ मिटर खनिसकिएको छ । दाँयातर्फको ११०० मिटर लामो सुरुङ खन्न हाल पोर्टल निर्माण भइरहेको र चाँडै सुरू गरिने उनले बताए ।

सिसौटार सुरुङ : फास्ट ट्रयाककै सबैभन्दा छोटो यो सुरुङको दाँयातर्फबाट खन्ने काम सुरू भएको छ । बस्नेतका अनुसार ४८० मिटरमध्ये ६८ मिटर खनिसकिएको छ । बाँयातर्फ ५६० मिटर सुरुङ खन्न पोर्टलको काम भइरहेको उनले जानकारी दिए ।

मौरीभीर सुरुङ : हालसम्म मौरीभीर सुरुङ खन्ने काम सुरू भएको छैन । हाल दुवैतर्फ पोर्टल निर्माण भइरहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उनका अनुसार यो सुरुङको दाँयातर्फ ५३६ मिटर र बाँयातर्फ ६६३ मिटर लामो छ । चाँडै खन्ने काम सुरू हुने उनको भनाइ छ ।

फास्ट ट्रयाकका सुरुङ निर्माण सम्पन्न हुन र संचालनमा आउन भने अझै केही वर्ष लाग्ने छ । सडक पूर्ण रूपमा निर्माण सम्पन्न नभई सुरुङ प्रयोगमा ल्याउन सकिँदैन । विं. सं. २०७४ देखि सुरू गरिएको फास्ट ट्रयाकको हालस्म्म ४८.७२ प्रतिशत काम सकिएको छ । हालसम्म समष्टिगत रूपमा ९२ अर्ब ६८ करोड रुपैयाँ खचए भइसकेको छ ।


Back_to_top