सवारीधनीले १ वर्षमा मोटर बीमामा खर्चिए साढे १५ अर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सवारी साधनधनीले बीमामा मात्रै साढे १५ अर्ब रुपैयाँ खर्चिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा मोटर बीमा बापत कुल १५ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो अघिल्लो आव २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोड रुपैयाँ धेरै हो । अघिल्लो आवमा मोटर बीमा बापत कुल १२ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

गत आवमा मोटर बीमा गराउनेको संख्या बढ्दा प्रिमियम रकम पनि बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा मोटर बीमालेखा (पोलिसी) संख्या १ लाख २० हजार वटाले बढेको हो । गत आवमा १६ लाख ९४ हजार २६९ वटा मोटर पोलिसी जारी भएको छ । जबकि, अघिल्लो आवमा कुल १५ लाख ७४ हजार ४४८ वटा पोलिसी जारी भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । आन्दोलनका क्रममा साढे १२ हजार सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए ।

तर, सबै सवारीको बीमा नहुँदा करिब साढे २ हजार वटाले मात्र क्षतिपूर्ति दाबी गरेका थिए । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी केही सचेत भई बीमा गराउन थालेको बीमकहरू बताउँछन् । साथै, गत आवमा दुईपाँग्रे नयाँ सवारी बिक्री बढ्दा पनि मोटर बीमालेख संख्या बढ्न सहयोग पुगेको हो ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।


Back_to_top