काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राको स्कोर्पियो एन फिचर लोडेड भएकार आउने भएको छ । आगामी अगष्ट दोस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको अपडेटेड स्कर्पियो एन भारतीय डिलरहरूमा पुगेको हो ।
सार्वजनिक स्पाइ तस्बिर अनुसार स्कोर्पियो एनको मुख्य आकर्षण ठूलो प्यानोरामिक सनरूफ थपिएर आएको छ । हालको स्कोर्पियो एनमा सिङ्गल पेन सनरूफ मात्र छ ।
नयाँ स्कर्पियो एनमा हलुका रङको छतको लाइनिङका साथ आफ्नो ड्युअल टोन कालो र खैरो इन्टेरियरलाई निरन्तरता दिएको छ । महिन्द्राले यसको क्याबिनलाई थप आकर्षक बनाउन दुईवटा ठूला डिस्प्लेहरूसँग अपग्रेड गर्ने अपेक्षा पनि गरिएको छ । यसमा १०.२ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र फुलस्क्रीन म्याप सपोर्टसहितको १०.२५ इन्चको पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउने सम्भावना छ।
साथै, यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले पनि समावेश हुने अपेक्षा गरिएको छ । हालै परीक्षण स्कर्पियो एनमा सोनी अडियो सिस्टम देखिएको थियो । यसमा ३६० डिग्री क्यामेरा पनि उपलब्ध हुने सम्भावना छ ।
नयाँ स्कोर्पियो एनले केही व्यावहारिक अपग्रेडहरू पनि पाउने अपेक्षा गरिएको छ । दोस्रो पङ्क्तिका यात्रुहरूले ६५ वाटको टाइप सी फास्ट चार्जिङ पोर्ट, ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र ह्याजार्ड लाइटहरू जस्ता कार्यहरूका लागि थार रक्सको जस्तै नयाँ टगल स्विचहरू हुने सम्भावना छ । यी बाहेक समग्र क्याबिनको लेआउट हालकै जस्तै रहने छ । महिन्द्राले यो एसयूभीमा अझै तेस्रो पङ्क्तिका यात्रुहरूका लागि एसी भेन्टहरू प्रदान गर्ने सम्भावना भने छैन ।
नयाँ स्कर्पियो एनको बाहिरी डिजाइनमा भने कस्मेटिक परिवर्तन हुने अपेक्षा छ । यसको ठूलो बाहिरी अपडेटमा १८ इन्चको एलोय ह्वीलका लागि नयाँ डिजाइन जस्तो देखिन्छ । साथै, केही थप कलर अप्सन उपलब्ध हुन सक्नेछ ।
२०२६ स्कोर्पियो एनमा कुनै पनि मेकानिकल परिवर्तनहरूको अपेक्षा गरिएको छैन । यसमा हालकै २.० लिटर टर्बो पेट्रोल इन्जिन र २.२ लिटर डिजेल इन्जिनलाई नै निरन्तरता दिने सम्भावना छ। पेट्रोल इन्जिनले एसयूभीले २०० ब्रेक हर्षपावर ३८० न्युटन मिटर टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले १७५ ब्रेक हर्ष पावर र ४०० न्युटन मिटर टर्क प्रदान गर्छ । दुवै इन्जिनसँग म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पहरू उपलब्ध हुनेछन् ।


