डोङफेङले ल्यायो १५०० किलोवाटको शक्तिशाली चार्जर

काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल (ईभी) बजारमा चार्जिङ प्रविधिलाई लिएर गाडी निर्माता कम्पनीहरू बीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

बीवाइडीले गत मार्चमा ९ मिनेटमा गाडी चार्ज हुने फ्यास चार्जिङ प्रविधि र दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’ ल्याएको थियो । हालै मात्र एफएडब्लू ग्रुप अन्तर्गतको हङछी ब्राण्डले ३ मिनेट ४१ सेकेण्डमै १० देखि ७० प्रतिशतसम्म चार्ज हुने ब्याट्री विकास गरेको छ ।

यही दौडमा चिनियाँ सरकारी स्वामित्वको डोङफेङ मोटरले १,५०० किलोवाट क्षमताको शक्तिशाली चार्जर सार्वजनिक गरेको छ ।

जुलाई २९ मा डोङफेङ ग्लोबल इनोभेसन सेन्टरमा आयोजित विशेष कार्यक्रममा कम्पनीले किलोभोल्ट ई ड्राइभ र मेगावाट अल्ट्रा फास्ट चार्जिङ पाइलका नयाँ प्रोटोटाइपहरू सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यस अल्ट्रा फास्ट चार्जिरको एउटै गनबाट १,५०० किलोवाट (१.५ मेगावाट) सम्मको शक्ति प्रदान गर्छ । जुन हाल चीनमा उपलब्ध सामूहिक उत्पादन स्तरमध्ये सबैभन्दा उच्च हो।

यसको एउटा गनमा १,५०० एम्पियरसम्म करेन्ट र १५० देखि १,००० भोल्टसम्मको रेन्ज रहन्छ । यस चार्जरको समग्र कार्यक्षमता ९६.७ प्रतिशतभन्दा बढी छ।

डोङफेङको अल्ट्रा फास्ट चार्जिङ पाइलमा १.२ मेगावाटको मुख्य (होस्ट) युनिट रहेको छ । यसले लचिलो क्याबिनेट पेयरिङलाई सहयोग गर्छ । जसले गर्दा यसको शक्तिलाई २.४ मेगावाट वा त्योभन्दा माथिसम्म बढाउन सकिने डोङफेङले बताएको छ ।

यसको १,५०० किलोवाटको सिंगल गन आउटपुट बिवाइडीले मार्च ५ मा सार्वजनिक गरेको दोस्रो पुस्ताको फ्ल्यास चार्जिङ पाइलसरह छ। त्यो उत्पादनलाई त्यतिबेला विश्वकै सबैभन्दा शक्तिशाली सामूहिक रूपमा उत्पादित सिंगल गन चार्जरको रूपमा प्रचार गरिएको थियो।

चीनको नयाँ ऊर्जा कार्यक्षमता राष्ट्रिय मापदण्ड (जीबी ४६५१९-२०२५) लागू भएपछि यो प्रविधि ‘लेभल १’ ऊर्जा कार्यक्षमता प्रमाणीकरण पाउने पहिलो ब्याचमा परेको छ ।

डोङफेङले अब ब्याट्रीमा आधारित ऊर्जा भण्डारण प्रणालीसहितको अर्को पुस्ताको चार्जर विकास गरिरहेको र ७२० किलोवाटदेखि २.४ मेगावाटसम्मका साना तथा ठूला दुवै प्रकारका गाडीले प्रयोग गर्न सक्ने चार्जिङ पोर्टफोलियो तयार पार्ने जनाएको छ।

कम्पनीले सोही कार्यक्रममा आफ्नो पहिलो किलोभोल्ट ई ड्राइभ आइडी ५–३०० एसएन पनि सार्वजनिक गरेको छ । १,५०० भोल्ट क्षमताको एसआइसी पावर मोड्युलयुक्त यो प्रविधिले ४५० देखि १,००० भोल्टसम्म काम गर्छ र ३०० किलोवाट पावर प्रदान गर्छ। यसको पावर डेन्सिटी अघिल्लो पुस्ताको तुलनामा ३० प्रतिशतले बढी छ। यो प्रविधिलाई हुवावेसँगको सहकार्यमा निर्माण भइरहेको एपिकल्याण्ड ब्राण्डका गाडीहरूमा प्रयोग गरिनेछ।


Back_to_top