नयाँ पल्सर सार्वजनिक गर्दै बजाज, फ्लेक्स फ्युल मोडल आउने सम्भावना

काठमाडौं । बजाज अटोले आगामी अगस्ट १२ मा नयाँ भेरियन्टको पल्सर मोटरसाइकल सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको छ । कम्पनीले नयाँ पल्सरको भिडियो टिजर सार्वजनिक गर्दै अगस्टको दोस्रो सातामा नयाँ पल्सर भारतीय बजारमा लन्च हुने बताएको हो ।

कम्पनीले सार्वजनिक गरेको टिजरमा ‘ट्विस्ट इनटू एन अल न्यू रस’ नामक ट्यागलाइन प्रयोग गरिएको छ । जसले यो केवल सामान्य अपडेट मात्रै नभई पल्सरको नयाँ मोडलको सुरुवात हुन सक्ने संकेत दिएको हो ।

कम्पनीले कुन मोडल सार्वजनिक गरिने हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन । यद्यपि, नयाँ पल्सर १५० वा पल्सर १२५ मध्ये कुनै एक मोडल सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

नयाँ पल्सरमा पूर्ण रूपमा नयाँ डिजाइन, अपडेट गरिएको चेसिस, परिमार्जित इन्जिन, सुधारिएको सस्पेन्सन तथा आधुनिक फिचरहरू समावेश हुने अपेक्षा गरिएको छ । कम्पनीले मोटरसाइकललाई अझ रमाइलो राइडिङ अनुभव प्रदान गर्नुका साथै आरामदायी र दैनिक प्रयोगका लागि अझ उपयुक्त बनाउने लक्ष्य लिएको बताएको छ ।

साथै, भारत सरकारले स्वच्छ वैकल्पिक इन्धनको प्रयोगलाई प्रोत्साहन गरिरहेको अवस्थामा बजाजले आफ्नो पहिलो फ्लेक्स–फ्युल (ई–८५ कम्प्याटिबल) पल्सर पनि सार्वजनिक गर्न सक्ने चर्चा छ । यदि यस्तो भएमा, पल्सर सिरिजमा फ्लेक्स–फ्युल प्रविधि समावेश गर्ने कम्पनीको पहिलो प्रयास हुनेछ ।

करिब २५ वर्षदेखि बजारमा लोकप्रिय रहेको पल्सर बजाजको सबैभन्दा प्रतिष्ठित मोटरसाइकलमध्ये एक भएकाले नयाँ भेरियन्टको सुरूवात यही मोडलबाट हुन सक्ने सम्भावना बलियो देखिएको रिपोर्टमा उल्लेख छ ।

पछिल्ला केही वर्षयता बजाजले पल्सरको एन र एनएस सिरिजमा विभिन्न अपडेटहरू ल्याउँदै आएको भए पनि, मूल पल्सर लाइनअपमा उल्लेखनीय परिवर्तन गरिएको थिएन । यही कारणले पनि आगामी सार्वजनिकलाई निकै महत्वपूर्ण रूपमा हेरिएको बताइएको छ ।


Back_to_top