काठमाडौं । यातायात व्यवस्था विभागले मालबाहक सवारी साधनको दर्ता खुलाएको छ । विभागले सोमबार सातै प्रदेशका यातायात मन्त्रालयहरुलाई पत्रचार गर्दै मालबाहक सवारी दर्ता गर्न भनेको हो ।
‘यस विभागको मिति २०८३/०२/०७ को पत्रबमोजिम सार्वजनिक सवारीसाधनको दर्ता रोक्का सम्बन्धमा अर्को सूचना जारी नभएसम्म सार्वजनिक सवारीसाधनहरुको नयाँ दर्ता रोक्का भएको व्यहोरा अवगत नै छ। सोही सन्दर्भमा आजको मितिदेखि सम्पूर्ण मालबाहक सार्वजनिक सवारीसाधनहरुको मात्र दर्ता खुला गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ विभागको परिपत्रमा भनिएको छ ।
विभागले गत जेठ ७ गतेदेखि अनिश्चितकालका लागि सबै किसिमका सार्वजनिक सवारीको दर्ता रोकेको थियो । विभागले यसअघि २०८३ जेठ ८ गते अघि एलसी खोलिसकी प्रक्रिया अघि बढिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी दर्ता खुलाएको थियो ।
विभागले यात्रुबाहक सार्वजनिक सवारी (बस, माइक्रोबस) लगायतको नयाँ दर्ता रोक्का भने कायमै राखेको छ । यद्यपि, केन्द्र सरकारको निर्णय अवज्ञा गर्दै बागमती प्रदेश सरकारले भने जेठ तेस्रो सातादेखि सार्वजनिक सवारी दर्ता खुलाएको थियो । अन्य प्रदेशहरूले भने हालसम्म निर्णय गरेका छैनन् ।
विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदुषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै दर्ता रोक्न निर्देशन दिएको थियो । उक्त निर्देशन दिँदा विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) प्रयोग गरेको थियो ।
उक्त उपदफामा ‘वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्का गर्न मनासिव देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्न आदेश दिन सक्ने,’ व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार सार्वजनिक यातायात प्रदेशहरूको एकल अधिकार क्षेत्र भित्र पर्छ । सवारी दर्ता, कर निर्धारण लगायत यातायात सम्बन्धी सम्पूर्ण काम प्रदेशहरूले नै गर्न पाउँछन् ।


