रोल्स रोयसलाई चुनौती दिन तयार जेनेसिस, ल्याउँदै छ यस्तो एसयूभी

काठमाडौं । हुन्डाई मोटर ग्रुप अन्तर्गतको लक्जरी ब्राण्ड जेनेसिसले नयाँ एसयूभी तयार गरेको छ । कम्पनीले रोल्स रोयसलाई टक्कर दिने योजना अनुसार जीभी-९० एसयूभी तयार पारेको हो ।

दक्षिण कोरियाली निर्माताले जीभी-९० एसयूभी यही अगस्ट महिनामा सार्वजनिक गर्ने भएको छ । यसको सबैभन्दा ठूलो आकर्षण विशेष ‘कोच डोर’ डिजाइन हुनेछ ।

पछाडिको ढोका अगाडितर्फ नभई पछाडितर्फ खुल्ने छ । हाल यस्तो व्यवस्था मुख्य रूपमा रोल्स रोयस कुलिनान र फेरारी पुरोसाङ्गुजस्ता अति लक्जरी गाडीमा मात्र देख्न पाइन्छ । जेनेसिसले पनि यही विशेषतालाई आफ्नो नयाँ एसयूभीको प्रमुख पहिचान बनाउने तयारी गरेको हो ।

सन् २०२४ मा कम्पनीले सार्वजनिक गरेको ‘नियोलुन कन्सेप्ट’ ले जीभी-९० को डिजाइनबारे संकेत दिएको थियो । त्यतिबेला देखाइएको कन्सेप्ट मोडलको धेरै फिचरको बारेमा अनेकन टिप्पणी भएपनि कम्पनीले कोच डोर भने उत्पादन मोडलमै आउने बताएको थियो ।

जीभी-९० नयाँ ‘ईएम आर्किटेक्चर’ प्लेटफर्ममा आधारित छ । यो अहिले हुन्डाई मोटर ग्रुपले प्रयोग गरिरहेको ई-जीएमपी प्लेटफर्मको विकसित संस्करण हो ।

जेनेसिस जीभी-९० मा दुईवटा विद्युतीय मोटर रहने सम्भावना छ । अल ह्वलि ड्राइभ सिस्टममा आउने एसयूभीमा करिब ११० किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक रहने बताइएको छ । यसको आधिकारीक पुस्टी कम्पनीले गरिसकेको छैन । भविष्यमा कम्पनीले रेन्ज एक्सटेन्डर वा हाइब्रिड मोडल पनि ल्याउने संकेत दिएको छ ।

जेनेसिसका अधिकारीहरूका अनुसार जीभी-९० ले लक्जरी, आराम, प्रविधि र पर्सनलाइजेसनका हिसाबले ब्राण्डलाई नयाँ उचाइमा पु¥याउनेछ । बजारमा आएपछि यसले रेन्ज रोभर इलेक्ट्रीक, बीएमडब्लू आईएक्स सेभेन, मर्सिडिज बेन्ज ईक्यूएस एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

युरोपमा पनि जीभी-९० बिक्री गरिने कम्पनीले जनाएको छ । यद्यपि, यसको बिक्री संख्या सिमित रहने अनुमान गरिएको छ । नयाँ फ्ल्यागसिप एसयूभीमार्फत जेनेसिसले विश्व प्रिमियम ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको देखिन्छ ।


Back_to_top