काठमाडौं । सरकारले ट्राफिक नियम पटक पटक उल्लंघन गर्ने प्रवृत्ति न्यूनीकरण गर्न जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको ‘राष्ट्रिय यातायात नीति २०८३’मा यस्तो व्यवस्था गरिएको हाे ।
नयाँ राष्ट्रिय नीति अनुसार स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत चालकको ट्राफिक उल्लङ्घन तथा सुरक्षित ड्राइभिङ अभिलेखलाई एकीकृत गरी जोखिममा आधारित चालक व्यवस्थापन प्रणाली लागू गरिने छ ।
यस अन्तर्गत कुनै पनि चालकको लाइसेन्सको विवरणमा हरेक ट्राफिक नियम उल्लङ्घन (जस्तै ओभरस्पीड, गलत ओभरटेक, रेड लाइट क्रस, मापसे, लापसे लगायत) तथ्यांक डिजिटल रूपमा राखिन्छ ।
ट्राफिक नियम उल्लंघन रेकर्डका आधारमा सुरक्षित चालकदेखि धेरै लापारबाही गर्ने चालकसम्म विभिन्न वर्गमा वर्गीकरण गरिन्छ । जसका आधारमा चालकहरूलाई वर्गीकरण गरी सोही अनुसार कारबाही, जवरिवाना छुट वा व्यवस्थापन गर्ने प्रणाली बनाइन्छ ।
जसले पूर्ण रूपमा ट्राफिक नियम पालना गर्छ, उनीहरुलाई प्रोत्साहन स्वरुपमा सरकारले केही सहुलियत दिन सक्छ भने धेरै नियम ताड्नेलाई लाइसेन्स निलम्बन हुने, पुनः तालिम वा परीक्षा दिनुपर्ने जस्ता कडा नियम लागू गरिन्छ ।
यस प्रणालीले पटकपटक नियम मिच्ने र लापारबाहीपूर्वक सवारी चलाउने चालकलाई निगरानीमा राखी दुर्घटना कम गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।


