भारतमा विद्युतीय कारको बिक्री ८२% ले बढ्यो, यी हुन् धेरै बेच्ने ५ ब्राण्ड

काठमाडौं । भारतमा पनि विद्युतीय कारको बिक्री तिब्र गतिमा बढ्न थालेको छ । अघिल्लो वर्षसम्म अत्यन्त न्यून संख्यामा बिक्री हुँदै आएको ईभीमा अहिले उछाल आएको हो ।

बढ्दो पेट्रोलियम पदार्थको मूल्य र मध्यपूर्वमा जारी युद्धको कारण भारतमा पनि ईभी किन्नेहरु बढ्दै गएका छन् । भारतमा अघिल्लो वर्ष २०२५ जुलाईमा १७ हजार ९५३ युनिट विद्युतीय कार बिक्री भएकोमा यस वर्ष जुलाईमा ८२ प्रतिशतले बिक्री बढेको हो ।

बिभिन्न १५ ब्राण्डले जुलाई २०२६ मा ३२ हजार ६१४ युनिट कार बिक्री गरेका छन् । भारतीय बजारमा ईभी सेग्मेन्टको लिडर टाटा मोटर्स रहेको छ । कम्पनीले अघिल्लो वर्ष जुलाईमा ६ हजार ७३२ युनिट विद्युतीय कार बिक्री गरेको थियो ।

यस वर्षको जुलाईमा १०२ प्रतिशतको वृद्धि गर्दै टाटाले १३ हजार ५८३ युनिट विद्युतीय कार बिक्री गर्न सफल भएको हो ।

वृद्धिको आधारमा टाटाको भन्दा राम्रो महिन्द्राको देखिन्छ । सन् २०२५ जुलाईमा ३ हजार ४१५ युनिट विद्युतीय कार बिक्री गरेको महिन्द्राले १२५ प्रतिशतले बिक्री बढाउँदै यस वर्ष जुलाईमा ७ हजार ६७७ युनिट विद्युतीय कार बिक्री गर्न सफल भएको हो ।

तेस्रो स्थानमा जेएसडब्लू एमजी रहेको छ । भारतीय जिन्दाल ग्रुप र चिनियाँ एसएआइसी ग्रुपको लगानीमा संचालित एमजीको भने ग्रोथ छैन । कम्पनीको बिक्रीमा ४ प्रतिशतले गिरावट आएको छ । गत वर्ष जुलाईमा ५ हजार ९०१ युनिट कार बिक्री गरेको एमजीले यस वर्षको जुलाईमा ५ हजार ६४२ युनिट ईभी बिक्री गरेको हो ।

धेरै ईभी बिक्री गर्ने ब्राण्डको चौथो स्थान मारुती सुजुकीले लिएको छ । इ भिटारा एसयूभीको बिक्री जुलाईमा १ हजार ५९० युनिट भएको देखिन्छ ।

धेरै ईभी बेच्ने ब्राण्डको सूचीमा पाँचौ स्थान भिनफास्टले लिन सफल भएको छ । भियतनामी कम्पनी भिनफास्टले जुलाई महिनामा १ हजार ४७८ युनिट कार बिक्री गर्न सफल भएको हो ।

यी पाँच बाहेक अन्य कुनै पनि ब्राण्डले जुलाईको बिक्रीमा एक हजार युनिट बिक्री आँकडा कटाउन सकेका छैनन् । बीवाइडी, हुन्डाई, किया, बीएमडब्लू, मर्सिडिज, टोयोटा, टेस्ला, सिट्रोन, भोल्भो र पर्श्चले पनि जुलाईमा ईभी बिक्री गरेका छन् ।


Back_to_top