काठमाडौं । रोयल इनफिल्डको बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल हिमालयन ७५० उत्पादनका लागि तयार भएको छ । नयाँ हिमालयन ७५० मोटरसाइकलको उत्पादन रेडि मोडल बेलायतस्थित युके टेक्नोलोजी सेन्टर नजिकै परीक्षण भइरहेको अवस्थामा देखिएको हो ।
यसअघि हिमालयन ७५० भारत तथा युरोपका विभिन्न स्थानमा प्रोटोटाइप मोडलका रूपमा परीक्षण भइरहेको थियो । पछिल्लो पटक देखिएको प्रोटोटाइप भने उत्पादन तयारी अवस्थामा रहेको देखिन्छ ।
रोयल इन्फिल्डको सीईओ बी. गोविन्दराजनले नयाँ ७५० सीसी मोटरसाइकल प्लेटफर्मलाई इटालीको मिलानमा आयोजना हुने इक्मा २०२६ मा सार्वजनिक गर्ने बताएका छन् ।
नयाँ परीक्षण मोडल अघिल्ला टेस्ट म्युलभन्दा निकै फरक शैलीमा देखिएको छ । यसमा कुनै पनि डाटा लगिङ उपकरण वा परीक्षण सामग्री प्रयोय भएको देखिँदैन भने बडी प्यानल, लाइटिङ, स्विचगियरहरू लगायतका सम्पूर्ण बडि डिजाइन उत्पादनका लागि तयार अवस्थामा देखिएका छन् ।
डिजाइनको हिसाबले हिमालयन ७५० हालको हिमालयन ४५० बाटै प्रेरित रहेको देखिन्छ । यसमा रोयल इन्फिल्डको पहिचान झल्काउने गोलाकार एलईडी हेडलाइट र अपराइट एड्भेन्चर डिजाइन दिइएको छ । तर ठूलो फेयरिङ, अग्लो विन्डस्क्रीन र ठूलो फ्युल ट्यांकका कारण यो मोटरसाइकल हिमालयन ४५० भन्दा बढी प्रिमियम र ठूलो देखिन्छ ।
यसमा माथिल्लो भागमा राखिएको नयाँ डिजाइनको एग्जस्ट पनि देखिन्छ, जसले ग्राउन्ड क्लियरेन्स बढाउन सहयोग गर्नेछ । हिमालयन ७५० कडा अफरोड मोटरसाइकलभन्दा पनि रोड फोकस्ड एड्भेन्चर टुररको रूपमा विकास भइरहेको संकेत गरेको छ ।

मोटरसाइकलमा कास्ट अलोय ह्विल र सीएट रोड बेस्ड टायर प्रयोग गरिएको छ । रिपोर्टअनुसार यसमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील सेटअप रहने सम्भावना छ । यस्तो सेटअप मिडलवेट एड्भेन्चर टुरिङ मोटरसाइकलमा सामान्य रूपमा प्रयोग गरिन्छ, जसले हाइवे स्थिरता र हल्का अफरोड क्षमता बीच सन्तुलन प्रदान गर्छ ।
ब्रेकिङका लागि अगाडि ट्विन डिस्क ब्रेकसहित बाइब्री क्यालिपर, सोवा युएसडी फ्रन्ट फोर्क र पछाडि रिमोट प्रिलोड एड्जस्टरसहितको मोनोशक दिइएको छ ।
रोयल इन्फिल्डले हालसम्म यसको प्राविधिक विवरण सार्वजनिक गरेको छैन । तर कम्पनीले नयाँ हिमालयनमा प्यारालल ट्विन इन्जिन सेटअप प्रयोग हुने पुष्टि भने गरिसकेको छ ।
यो इन्जिन हालको ६४८ सीसी ट्विन सिलिन्डर प्लेटफर्ममा आधारित हुने अनुमान गरिएको छ । तर ठूलो डिस्प्लेसमेन्ट र नयाँ इन्टरनल पाट्र्ससहित यसलाई एड्भेन्चर टुरिङका लागि थप परिमार्जन गरिने अपेक्षा गरिएको छ ।
यसमा गोलाकार टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसन, राइड-बाई-वायर थ्रोटल, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, स्विचेवल टाइपको एबीएस मोड लगायतका सुविधाहरु उपलब्ध हुने सम्भावना छ ।
नेपाली बजारमा रोयल इनफिल्डको हिमालयन ४५० एड्भेन्चरले राम्रो चर्चा कमाइरहेको छ । अल्फा अटोमोटिभले भारतमा निर्माण भएका रोयल इनफिल्डका प्रायः सबै मोडल नेपालमा उपलब्ध गराउँदै आएकाले यो नयाँ मोडल पनि आउन सक्ने सम्भावना छ ।


