रुट परमिटमा कडाइ, माइक्रोलाई ३०० किमीसम्म मात्रै दिन निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको बाटो इजाजत तथा संचालन सम्बन्धी व्यवस्थामा कडाइ गर्न निर्देशन दिएको छ ।

विभागले बुधबार सातै प्रदेशका यातायात हेर्ने मन्त्रालयहरूलाई परिपत्र गर्दै विभिन्न ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

विभागले बाटो इजाजतपत्र प्रदानका लागि ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४’ र गरिएका अन्य कानुनी व्यवस्थाहरू अनुसार मात्रै रुट इजाजत दिन र कडाइका साथ कार्यान्वन गर्न भनेको हो ।

विभागले जीप प्रकृतिका ८ सिट देखि १४ सिट सम्मको सवारी साधनहरू ( जस्तै टाटा सुमो, महिन्द्रा बोलेरो आदि)लाई २५० किमी र माइक्रोबसको हकमा ३०० किमी भित्रको रुटको लागि मात्र बाटो इजाजत पत्र प्रदान गर्न निर्देशन दिएको छ ।

त्यस्तै, सार्वजनिक सवारी साधनको प्राविधिक परीक्षण तथा प्रदूषण जाँच अनिवार्य गर्न भनिएको छ । विभागले हरेक ६–६ महिनामा प्राविधिक जाँचपास र प्रदूषण परीक्षण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

त्यस्तै, सवारी परीक्षण कार्यालयबाट रात्रि सेवा कायम भएको उल्लेख भएको अवस्थामा मात्रै सम्बन्धित सार्वजनिक सवारीले रात्रि सेवा संचालन गर्न पाउनेछन् । साधारण रात्रि, डिलक्स तथा सुपर डिलक्स यात्रुवाहक सार्वजनिक सवारीलाई पनि बाटो इजाजतपत्रमा उल्लेख भएको वर्गअनुसार मात्रै संचालन तथा तोकिएको अधिकतम भाडा लागू हुने विभागले जनाएको छ ।

विभागले बाटो इजाजत पुस्तिकामा अनधिकृत व्यक्तिले ओभरराइट गर्ने, थपघट गर्ने लगायतका गतिविधि देखिएमा त्यस्ता गैरकानुनी कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

त्यस्तै, बाटो इजाजतपत्रमा दिउँसो मात्र चल्ने भनेर उल्लेख गरिएको सवारीलाई दिउँसो सेवा र रात्रि सेवा कायम भएको अवस्थामा मात्रै रात्रि सेवा उल्लेख गर्नुपर्ने व्यवस्था गर्न भनेको छ ।

विभागले रातो प्लेटका चारपाँग्रे निजी सवारीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्न समेत निर्देशन दिएको छ ।

विभागले तोकिएका प्रावधान पालना नगरेको भन्दै पटकपटक गुनासो आएको जनाएको छ। त्यसैले सम्बन्धित निकायलाई सूक्ष्म निगरानी गरी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

विभागले प्रचलित व्यवस्था विपरीत काम गर्ने वा गराएको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी समेत दिएको छ।

विभागले तोकिएका व्यवस्था कार्यान्वयन गर्न सातै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको राष्ट्रिय महासंघलाई समेत बोधार्थ पठाइएको छ ।


Back_to_top