काठमाडौं । विश्वकै ठूलो विद्युतीय कार बजार चीनमा टोयोटाले ईआरईभी प्रविधिमा ठूलो लगानी गर्ने भएको छ । जापानी संचारमाध्यम निकेई एसियाका अनुसार टोयोटाले चीनमै ईआरईभी उत्पादन गर्ने रणनीति तयार पारेको हो ।
ईआरईभीमा गाडीलाई चलाउने काम पूर्ण रूपमा विद्युतीय मोटरले गर्छ । ब्याट्रीमा सञ्चित ऊर्जा सकिँदै गएपछि पेट्रोल इन्जिनले गाडी गुडाउने काम नगरी विद्युत् उत्पादन गरेर ब्याट्री चार्ज गर्छ । सोझो हिसाबमा भन्दा गाडीमा प्रयोग हुने इन्जिनको काम जेनेरेटरको हो ।
मिडिया रिपोर्टका अनुसार टोयोटाले चीनमा सुरूवाती चरणमा थोरै गाडी उत्पादन गर्नेछ । सन् २०२७ मा यस्ता गाडीको उत्पादन २ लाख युनिट गर्ने कम्पनीले लक्ष्य राखेको दावी छ । त्यसको अर्को वर्ष अर्थात् २०२८ मा भने उत्पादन दोब्बर बनाउने योजनामा टोयोटा रहेको छ ।
यसलाई टोयोटाको विद्युतीकरण रणनीतिमा महत्वपूर्ण परिवर्तन मान्नेहरू धेरै छन् । कम्पनीले यसअघि हाइब्रिड, प्लग–इन हाइब्रिड, पूर्ण विद्युतीय र हाइड्रोजन प्रविधिलाई समेटेर ‘बहुपथ’ रणनीति अघि बढाउँदै आएको थियो ।
चीनमा विद्युतीय सवारीको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा ईआरईभीले समेत बजारमा आफ्नो अलग स्थान बनाइरहेको छ । मूल्य प्रतिस्पर्धाका कारण परम्परागत हाइब्रिडभन्दा फरक प्रविधि अपनाएर बजारमा अघि बढ्ने प्रयासका रूपमा टोयोटाको यो कदमलाई हेरिएको छ ।
टोयोटाका एक कार्यकारीले चीनको बजार ब्याट्री विद्युतीय सवारीतर्फ केन्द्रित हुँदै गएको र मूल्य प्रतिस्पर्धा तीव्र भएकाले त्यसको प्रभावमा नपर्न नयाँ कदम चाल्न आवश्यक रहेको बताए ।
टोयोटाले गत वर्ष विश्व बजारमा करिब ३ लाख ८० हजार प्लग–इन सवारी बिक्री गरेको थियो । त्यसमा करिब २ लाख पूर्ण विद्युतीय र १ लाख ८० हजार प्लग-इन हाइब्रिड थिए । त्यसको तुलनामा चीनमा मात्रै ईआरईभीको उत्पादनलाई २०२७ सम्म २ लाख पुर्याउने योजना निकै ठूलो महत्वाकांक्षी देखिन्छ ।
चीनमा सफल भए टोयोटाले यही प्रविधिलाई अन्य बजारमा विस्तार गर्ने सम्भावना पनि बढ्नेछ । विशेषगरी ठूलो एसयूभी र पिकअपमा ईआरईभी प्रविधि प्रयोग गर्ने विश्वव्यापी चासो बढिरहेका बेला भविष्यमा टोयोटाका लोकप्रिय मोडलमा समेत यस्तो प्रविधि देखिन सक्ने अनुमान गर्न सकिन्छ ।

