काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि लामो दुरी र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका छन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि अत्यावश्यक अवस्थामा बाहेक टाढा र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको हो ।
साथै, महासंघले भोलिदेखि १२ असोजसम्म यातायात सेवा संचालन गर्नुपूर्व सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आग्रह गरेको छ ।
मौसम विभागले असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । वर्षापछि हुने बाढी तथा पहिरोको जोखिमलाई मध्येनजर गर्दै महासंघले सबैमा सचेत हुन आग्रह गरेको हो ।
महासंघले वर्षा र बाढीबारे जानकारी लिन टेलिफोन नम्बर ११५५, विपद्मा मद्दतका लागि ११५४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न अनुरोध गर्दै मौसम पूर्वानुमान सम्बन्धी अद्यावधिक जानकारी निरन्तर लिन सबैमा आग्रह गरेको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैमा सचेत र सावधानी अपनाउन आह्वान गरिसकेको छ ।
प्राधिकरणले सम्बन्धित मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

