एमजीले ल्यायो यु-९ इलेक्ट्रीक पीकअप, यस्तो छ मूल्य

काठमाडौं । एमजी मोटरको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले ‘एमजी यू-९’ पीकअप सार्वजनिक गरेको छ । कम्पनीले उच्च प्रदर्शन, अफरोड क्षमता र आधुनिक प्रविधिलाई केन्द्रमा राखेर तयार गरिएको यू-९ नेपाल ल्याएको हो ।

एमजी यू-९ ‘लक्जरी’ र ‘फ्ल्यागसिप’ गरी दुई भेरियन्टमा आएको छ । जसको मूल्य ९८ लाख ९९ हजार र १ करोड १० लाख रुपैयाँ कायम गरिएको छ ।

यसमा डुअल पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ। अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाटको मोटरले संयुक्त रूपमा ३२५ किलोवाट पावर तथा ७०० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्ड लगाउँछ । यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टासम्म छ ।

पीकअपमा १०२.२ किलोवाटआवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी परीक्षणमा एकपटकको चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ। डीसी फास्ट चार्जिङमार्फत २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न करिब ४२ मिनेट लाग्ने दाबी गरिएको छ।

यू-९ मा एयर सस्पेन्सन, डबल विशबोन फ्रन्ट र मल्टिलिंक रियर सस्पेन्सनका साथै ९ फरक ड्राइभिङ मोड पाउन सकिन्छ । यसको क्याबिनमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १२.३ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ स्पिकर, लेदर सिट पाउन सकिन्छ । टप भेरियन्टमा ड्राइभर सिटमा भेन्टिलेसन, मसाज र मेमोरी फङ्सनसमेत उपलब्ध छ ।


Back_to_top