टाटाको पहिलो पूर्ण विद्युतीय सवारी टाटा टिगोरकाे भारतमा बिक्री सुरू भएकाे छ । यसअघि सरकारी निकायमा मात्रै बिक्री हुँदै आएकाे टिगोर इभी प्राइभेट र कमर्सियल गरि दुईवटा मूल्यसहित बिक्री सुरू भएकाे हाे । कमर्सियल (ट्याक्सी) खरिदकर्ताले ९ लाख ९९ हजारदेखि १० लाख ९० हजार भारुसम्म रहेको छ ।
त्यस्तै प्राइभेट खरिदकर्तालाई भने टिगोर इभीको मूल्य ११ लाख ६१ हजारदेखि ११ लाख ७१ हजार भारुसम्म रहेको छ । भारत सरकारको फेम आइआइ स्किम अन्तर्गत प्रति विद्युतीय सवारीलाई १ लाख ६२ हजार इन्सेन्टिभ उपलब्ध रहेको छ ।
नाडा अटाे शाे २०१८ मा नेपाल ल्याइएकाे टिगाेर इभी यसपटककाे अटाे शाेबाट नेपाली बजारमा बिक्री वितरण सुरू हुने सम्भावना रहेकाे छ । टाटाकाे नेपालकाे लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नाडा अटाे शाे २०१९ मा टिगाेर इभी सार्वजनिक गर्नेछ ।
टिगोर इभी एक्सएम र एक्सटी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । त्यस्तै टिगोर इभी विभिन्न तीन रंगमा आउनेछ । यो कारमा डूअल एयरब्याग, एबीएस, रेयर पार्किङ सेन्सरलगायत विशेषता समावेश गरिएको छ ।
टिगोर इभीमा १६.२ केडब्लूएच व्याट्री प्याक रहेको छ जसले ४१ पीएस पावर र १ सय ५ एनएम टर्क दिन्छ । यो कारले फुल चार्जमा १ सय ४२ किलोमिटर माइलेज दिने टाटाले जनाएको छ ।

