काठमाडौं । ‘हिमालयन आर्ट फेस्टिभल २०२६’ को नवौँ संस्करण बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरू भएको छ।
नेपाली समकालीन तथा परम्परागत कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ई आट्र्स नेपालले उक्त फेस्टिभल आयोजना गरेको हो ।
आजदेखि सुरु भएको उक्त फेस्टिभल भदौ ११ गतेसम्म ९संचलन हुनेछ । यस महोत्सवमा १५२ भन्दा बढी समकालीन नेपाली कलाकारहरूका कलाकृतिहरू प्रदर्शनीमा राखिनेछन् ।
सन् २०१७ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस महोत्सवमा चित्रकला, पौभा, मूर्तिकला, प्रिन्टमेकिङ, इन्स्टलेसन र सेरामिक्स लगायतका विविध कलाका माध्यमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
महोत्सवको नवौँ संस्करणका अवसरमा नेपाली कला क्षेत्रमा असाधारण योगदान पुर्याएका वरिष्ठ कलाकार बत्स गोपाल वैद्यलाई ‘अनर्स टु द मेस्ट्रो’ बाट विशेष सम्मान गरिनेछ ।
प्रदर्शनीको प्रमुख क्युरेटरका रूपमा विधाता केसी र सह-क्युरेटरका रूपमा सुरेश महर्जन रहेका छन् । फेस्टिभलले स्थानीय कला संग्राहक तथा कर्पोरेट क्षेत्रलाई नेपाली कलामा लगानी गर्न र कलाकारहरूसँग प्रत्यक्ष जोडिन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।
सात दिनसम्म चल्ने यस महोत्सवमा कला प्रदर्शनीका साथै विभिन्न विधाका कार्यक्रमहरू समेत सञ्चालन हुनेछन् । महोत्सवको पहिलो दिन उद्घाटनसँगै ‘प्रशान्त कला पुरस्कार २०२६’ प्रदान गरिनेछ । यो पुरस्कार सन् २००३ मा दिवंगत कलाकार प्रशान्त श्रेष्ठको स्मृतिमा स्थापना गरिएको हो, जसले युवा तथा उदाउँदा कलाकारहरूलाई प्रोत्साहन गर्दै आएको छ ।
यस्तै, महोत्सवको दोस्रो दिन अगस्त २२ मा क्यालिजात्रा फाउन्डेसनको आयोजनामा ‘रञ्जना लिपि कार्यशाला’ सञ्चालन हुनेछ ।
तेस्रो दिन अगस्त २३ मा डा। टंक उप्रेतीको संयोजनमा ‘आर्ट विथ पोयट्री’ (कविता वाचन) कार्यक्रम आयोजना गरिनेछ, जहाँ १० जना ख्यातिप्राप्त कविहरूले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।
महोत्सवको चौथो दिन अगस्त २४ मा नेपाली समकालीन कलाको मूल्य निर्धारण, अभ्यास र भविष्यका बारेमा ‘कला संवाद तथा प्यानल छलफल’ हुनेछ ।
तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले सहजीकरण गर्ने उक्त छलफलमा अभिजीत प्रजापति, सोफिया महर्जन र सुजन श्रेष्ठ वक्ताका रूपमा रहनेछन् ।
नेपाल ट्रेडिसनल पेन्टिङ काउन्सिल, एनटीभी वल्र्ड, कुटुम्ब र क्यालिजात्रा फाउन्डेसन लगायतका संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको यो फेस्टिभल नेपालको समृद्ध कला र संस्कृतिको उत्सवका रूपमा रहने आयोजक ई-आट्र्स नेपालले उल्लेख गरेको छ ।


