डा. थापाको हरित हाइड्रोजन सम्बन्धी पुस्तक विमोचन

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा गरिएको अनुसन्धान र सहकार्यका आधारमा तयार गरिएको ‘ग्रीन हाइड्रोजन इन नेपालस् स्ट्र्याटेजिक पाथवेजब फर डिप डिकार्बोनाइजेसन एण्ड इन्डस्ट्रियल ट्रान्सफर्मेसन’ पुस्तक सार्वजनिक गरिएको छ ।

विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाद्धारा लिखित उक्त पुस्तक विमोचन गरिएको हो ।

लेखक डा. थापा विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय रहँदै आएका छन् ।

यो पुस्तक नेपालको ऊर्जा रूपान्तरण, औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावना र रणनीतिक मार्गबारे केन्द्रित छ ।

ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्यका साझेदारहरूको संयुक्त प्रयासबाट तयार भएको यस पुस्तकले नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाबारे विस्तृत रूपमा चर्चा गरेको छ।

विशेष गरी, जलविद्युत् स्रोतको उपयोगमार्फत हरित हाइड्रोजन उत्पादन गरी ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा हरित औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकताका साथ प्रस्तुत गरेको छ।

नेपाल सरकारले हरित हाइड्रोजनको विकासका लागि नीतिगत पहललाई तीव्रता दिइरहेको छ । हरित हाइड्रोजन नीतिको तयारी, करसम्बन्धी प्रोत्साहनका व्यवस्था तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणा जस्ता पहलहरूले नेपालमा यस क्षेत्रको विकासका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेका छन्।

काठमाडौं विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनाको निरन्तरतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

पुस्तकको निःशुल्क प्रति प्राप्त गर्न इच्छुक व्यक्तिले [email protected] मा इमेल गर्न सक्नेछन् ।


Back_to_top