काठमाडौं । ट्राफिक व्यवस्थापनको सुधारका लागि फेसलेस ट्राफिक व्यवस्था प्रणाली लागू गर्न सिफारिस गरिएको छ ।
राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाह घटनाको छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा गठित न्यायिक समितिले पेश गरेको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो ।
समितिले सरकारलाई बुझाएको प्रतिवेदनको सिफारिस खण्डमा ट्राफिक व्यवस्थापन सुधारका लागि १५ बुँदे सुझाव दिइएको छ । ती सिफारिसहरू तत्कालै कार्यान्वयनमा ल्याउन भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्रचार गरेको छ ।
साथै, मन्त्रालयले सो सिफारिस कार्यान्वयनको प्रगति गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा पठाउन समेत भनेको छ ।
समितिले ट्राफिक नियम उल्लंघन भए नभएको चेकजाँच गर्न सवारी अधिक चाप हुने क्षेत्रमा आधुनिक प्रविधियुक्त ‘सर्भिलेन्स एड मनिटरिङ सिस्टम’ जडान गरी फेसलेस ट्राफिक व्यस्थापन प्रणाली लागू गर्न सिफारिस गरेको छ ।
त्यस्तै, ट्राफिक तथा नगर प्रहरीको व्यवहार प्रति कुनै गुनासो भए वा ट्राफिक नियमको उल्लंघन गरेको भनी आफू कारबाहीमा पर्न लागेकै अवस्थामा वा कारबाहीमा परेकै अवस्थामा पनि सो उपर सहज रूपमा गुनासो पोखे वा पुनरावेदन गर्न पाउने संयन्त्र (ट्राफिक अदालत) को विकास गर्नुपर्ने सुझाव दिएको छ ।
साथै, जरिवानालाई ट्राफिक व्यवस्थापनको मूल उद्देश्यको रूपमा नलिई यो बाध्यात्मक अवस्थामा गरिएको कारवाहीको परिणाम हो भन्ने सम्बन्धित व्यक्तिलाई अनुभूति हुने गरी निजको विश्वास आर्जन गर्ने पद्दतीको रूपमा विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
सवारी साधन, सवारी चालक अनुमतिपत्र र ट्राफिक नियम उल्लघंन रेकर्ड सिस्टमका बीच तादात्म्यताको लागि प्रणाली विकास गरी सम्बन्धित व्यक्तिलाई स्वतः ट्राफिक नियम उल्लघंन र सो बापतको हुने जरिवानाको जानकारी एसएमएसद्वारा हुने व्यवस्था मिलाउन भनिएको छ ।


