मानिसभन्दा निकै ढिलो ‘ह्युमनोइड रोबोट’, अटो क्षेत्रमा प्रयोग बढ्दो

काठमाडौं । अटोमोबाइल उत्पादनमा ह्युमनोइड रोबोटको प्रयोग तीव्र पार्ने योजनामा उत्पादकहरु छन् । मानिसजस्तै हिँड्न, सामान समात्न र एक स्थानबाट अर्को स्थानमा लैजान सक्ने यस्ता रोबोटले भविष्यमा कारखानाका कठिन काम पनि गर्ने अपेक्षा गर्न थालिएको छ ।

अहिलेकै अवस्थामा भने ह्युमनोइड रोबोट अझै मानिसभन्दा छिटो छैनन् ।

बीएमडब्लूले अमेरिकाको दक्षिण क्यारोलिनास्थित स्पार्टनबर्ग प्लान्टमा बनाएको ह्युमनोइड रोबोट परीक्षण भइरहेको छ । उक्त रोबोटले कन्टेनरबाट पाट्र्स निकालेर ट्रलीमा राख्ने र ट्रलीलाई एक स्थानबाट अर्को स्थानमा लैजाने काम गर्दै आएको छ ।

बीएमडब्लूका लजिस्टिक्स उपाध्यक्ष उलरिच वाइल्यान्डका अनुसार रोबोटले हिँड्ने, सामान समात्ने र ट्रली तान्ने क्षमता देखाए पनि अहिले मानिसभन्दा सुस्त छ । यद्यपि, रोबोटिक्स प्रविधिको विकास निकै तीव्र गतिमा भइरहेकोले त्यसमा सुधार आउने उनको भनाइ छ ।

बीएमडब्लू मात्र होइन मर्सिडिज बेन्जले पनि कारखानामा पाट्र्स व्यवस्थापन र वर्गीकरणका लागि ह्युमनोइड रोबोट परीक्षण गरिरहेको छ । हुन्डाई मोटर्सले आफ्नो स्वामित्वमा रहेको बोस्टन डाइनामिका रोबोटलाई मानव कामदारका लागि पाट्र्स व्यवस्थापनमा प्रयोग गर्ने योजना तयार पारेको छ ।

ह्युमनोइड रोबोटका बारेमा टेस्लाभने अझ महत्वाकांक्षी देखिएको छ । कम्पनीले ह्युमनोइड रोबोटलाई भविष्यको ठूलो व्यवसायका रूपमा विकास गरिरहेको छ । टेस्लाले रोबोट उत्पादनको लागि लागि छुट्टै कारखाना तयार पारिरहेको छ ।

तर, सबै कम्पनी ह्युमनोइड डिजाइन नै सही समाधान हो भन्नेमा सहमत छैनन् । विज्ञहरूले कतिपय सामान्य र दोहोरिने कामका लागि मानिसजस्तै खुट्टा र शरीर भएको महँगो रोबोटभन्दा साधारण स्वचालित मेसिन निकै सस्तो र प्रभावकारी हुन सक्ने बताउँदै आएका छन् ।

अमेरिकी जनरल मोटर्सले हिँड्ने खुट्टासहितको रोबोटभन्दा हात भएका सहकार्यात्मक रोबोटमा जोड दिएको छ । अटो उद्योगमा रोबोटको प्रयोग बढ्दै जाँदा रोजगारीको विषयमा पनि बहस सुरु भएको छ । कम्पनीहरूले कठिन र कामदार अभाव भएका काम रोबोटले सम्हाल्ने तथा नयाँ प्राविधिक रोजगारी सिर्जना हुने दाबी गरेका छन् । तर, श्रमिक संगठनहरू भने यसको प्रत्यक्ष असर रोजगारी कटौतीमा पर्ने चिन्ता ब्यक्त गर्दै आएका छन् ।


Back_to_top