काठमाडौं । नेपाल बीवाइडी एटो टुको सनरुफ भएको सुपेरियर भेरियन्ट सार्वजनिक भएको छ ।
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले जारी नाडा अटो शो २०२६ मा नयाँ एटो टु बिक्री सुरु गरेको हो ।
कम्पनीले एटो टु सुपेरियर भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।कम्पनीले गत नाइमा मोबिलिटी एक्स्पोमा एटो टु को सस्तो इसेन्सियल भेरियन्ट ४५ लाख ९५ हजारमा लन्च गरेको थियो ।
बीवाइडी एटो टु हाल नेपालमा सर्वाधिक रुचाइएको एसयूभी हो । २०८२ साउनमा मात्रै नेपाल आएको बीवाइडी एटो टु १ वर्षमै करिब साढे २ हजार युनिट आयात भइसकेको छ । आकर्षक डिजाइन, आधुनिक फिचर, प्रफेक्ट साइज र मूल्यका कारण यो एसयूभी रोजाइमा परेको हो ।
बीवाइडी एटो टुमा १०० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । यसमा ५१.१३ किलोवाट आवरको ब्याट्रीप्याक छ ।जसले एकपटकको फुलचार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।
यसको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । एटो टुमा २६२० एमएम लामो ह्वीलबेस छ । कम्पनीका अनुसार यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । यसको बुट स्पेश ४०० लिटरको छ ।
बीवाइडी एटो टुको इन्टेरियरमा १२.८ इन्चको रोटेटिङ टचस्क्रीन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, ५० वाटको वायरलेच कुलिङ चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट यसमा छ । साथै, यसमा पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, इलेक्ट्रीक टेलगेट जस्ता बहु उपयोगी फिचर छन् ।
बीवाइडी एटो टुमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईपीबी, ईएससी, हिल असिस्ट, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, बीवाइडी डिजिटल की, हिल असिस्ट, लेभल टु एड्भान्स एडास उपलब्ध छ ।


