काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदी किनार हुँदै संचालन हुने सडकमार्गमा यात्रा नगर्न अनुरोध गरिएको छ ।
गृह मन्त्रालयले पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्नरनगराउन आग्रह गरेको हो ।
साथै, रसुवा, नुवाकोट, धादिङ, चितवनका नदी क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
ट्राफिक प्रहरीले काठमाडौंमा ती जिल्लामा जाने सवारीलाई बीचैमा रोकेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका छन् ।
जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।


