एक वर्षमा कुन कम्पनीले कति बेचे स्कुटर, यस्तो छ मार्केट सेयर

काठमाडौं । पछिल्लो समय दुईपांग्रे सवारीमा स्कुटरको बजार हिस्सा बढ्दै गइरहेको छ । नेपाली बजारमा एक दर्जन हारहारी ब्रान्डका स्कुटर बिक्री वितरण भइरहेको छ । २०१८ अप्रिलदेखि २०१९ को मार्चसम्म नेपालमा २ लाख ७० हजारभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन आयात भएको छ ।

त्यसमध्ये स्कुटरको हिस्सा करिब ३२ प्रतिशत रहेको छ । सहरी साधनको रुपमा स्कुटरको उपभोग बढ्दै गइरहेको छ । नेपाली बजारमा सबैभन्दा धेरै होन्डाको स्कुटर बिक्री हुने तथ्यांकले देखाएको छ । होन्डाले नेपाली स्कुटर बजारको करिब ६० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

०१८ अप्रिलदेखि ०१९ को मार्चसम्म होन्डाका स्कुटर (नाभी सहित) ५० हजार ९ सय ४६ वटा नेपाल भित्रिएका छन् । यसमा होन्डा डियो स्कुटरको सबैभन्दा धेरै बजार हिस्सा रहेको छ । होन्डाको डियोसहित एक्टिभा, एभिएटर, ग्राजिया र नाभी नेपाली बजारमा उपलब्ध रहेका छन् ।

स्कुटर सेगमेन्टमा होन्डालाई पछिल्लो तथ्यांक अनुसार टीभीएसले पछ्याएको छ । एक वर्षमा टीभीएसले ११ हजारभन्दा बढी स्कुटर आयात गरेको छ । उक्त संख्या स्कुटर बजारको करिब १३ प्रतिशत हो ।

टीभीएसले गत भदौमा एनटर्क स्कुटर नेपाल भित्त्र्याएपछि स्कुटरको बजार विस्तार गर्न सफल भएको हो । एनटर्कसँगै टीभीएसका जुपिटर क्लासिक, विगोलगायत स्कुटर उपलब्ध रहेको छ ।

नेपाली बजारमा धेरै आयात भएको स्कुटरको तेस्रो स्थानमा यामाहा रहेको छ । ०१८ अप्रिलदेखि ०१९ मार्चसम्म यामाहाका १० हजारभन्दा बढी स्कुटर आयात भएको तथ्यांक छ । नेपाली बजारमा यामाहाका फेसिनो, रेजेड जस्ता स्कुटर उपलब्ध रहेको छ । यसको बजार हिस्सा १२ प्रतिशत रहेको छ ।

यामाहालाई पछ्याएको भेस्पा अप्रिलियाको बजार हिस्सा ७ प्रतिशत रहेको छ । कम्पनीले १ वर्षमा ६ हजार ३ सय वटा आयात भएको तथ्यांक छ । अप्रिलिया भेस्पाका स्कुटर प्रिमियम ब्रान्डका भइकन पनि राम्रो बजार बनाउन सफल भएको देखिन्छ ।

त्यस्तै ४ प्रतिशत बजार हिस्सा रहेको सुजुकीको स्कुटर आयात ३ हजार रहेको छ । पछिल्लो समय सुजुकीको बर्गम्यान स्ट्रिट स्कुटर नेपाल भित्रिएपछि सुजुकी स्कुटको बिक्री बढेको हो ।

हिराेका स्कुटरले नेपालमा ३ प्रतिशत बजार हिस्सा लिएकाे छ । कम्पनीले प्लेजर, डेस्टीनी, डुयटजस्ता स्कुटर बिक्री गर्दै आएकाे छ । यस अवधिमा कम्पनीले २८०० स्कुटर नेपाल ल्याएकाे छ ।

०१८ अप्रिलदेखि ०१९ को मार्चसम्म महिन्द्राका ९ सय २० वटा स्कुटर नेपाल ल्याउँदै १ प्रतिशत बजार हिस्सा पाउन सफल भएको छ ।

यी बाहेक अन्य स्कुटरको आयात २०० यूनिट रहेको छ जसमा इटालियाजेटका १ सय ३७ वटा स्कुटर नेपाल आएको भन्सार विभागको तथ्यांकमा रहेको छ ।

यो तथ्यांकमा इलेक्ट्रीक स्कुटरको आयात जोडिएको छैन ।


Back_to_top