यस्ता छन् ५ धेरै आयात भएका एसयूभी, तपाईंको रोजाइ कुन ?

काठमाडौं । ईभीको बिक्री बढेसँगै ग्राहकको रोजाइ पनि साना ह्याचब्याकबाट कम्प्याक्ट तथा मिडसाइज एसयूभीतर्फ मोडिएको छ । यही कारण २०२६ को साढे सात महिनाको अवधिमा नेपाल आयात भएका विद्युतीय कारहरू मध्ये एसयूभीकै संख्या सबैभन्दा ठूलो देखिन्छ ।

जनवरी १ देखि अगस्ट १५, २०२६ सम्मको आयात तथ्यांकअनुसार बीवाइडी एटो २, डोङफेङ नामी भिगो, आइकार भी-२३, दिपल एस-०५ र टाटा पन्च ईभी सर्वाधिक आयात भएका पाँच इलेक्ट्रीक एसयूभी हुन् ।

आयात तथ्यांक अनुसार यस अवधिमा बीवाइडी एटो २ को १ हजार ४०३ युनिट आयात भएको छ । त्यस्तै, डोङफेङ नामी भिगो ४८९, आइकार भी-२३ लाइफस्टाइल मोडल ४६२, दिपल एस-०५ मोडल ४५४ र टाटा पन्च ईभी ३९२ युनिट आयात भएको देखिन्छ ।

एटो २ सबैभन्दा अगाडि

पाँच मोडलमध्ये बीवाइडी एटो २ को आयात अन्य मोडलभन्दा निकै अगाडि देखिन्छ । यसको मुख्य कारण बीवाइडी ब्रान्डप्रतिको नेपाली ग्राहकको बलियो विश्वास, कम्प्याक्ट एसयूभी डिजाइन, पर्याप्त रेन्ज र बजारमा स्थापित बिक्री तथा सर्भिस नेटवर्क हो ।

एटो २ को मूल्य अहिले ४५ लाखदेखि ५२ लाख रुपैयाँसम्म पर्छ । तीन भेरियन्टमा उपलब्ध एटो २ उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक फिचरको कारण धेरै मानिसले किनेका हुन् ।

मूल्य र फिचरको सन्तुलन नामी भिगो

डोङफेङ नामी भिगो ४८९ युनिट आयातसँगै दोस्रो स्थानमा छ । अहिले ३७ लाख ९९ हजार रुपैयाँको नयाँ भेरियन्ट लन्च भएको छ । त्यो भेरियन्ट बिक्रीको लागि आइसकेको छैन । तर, ४४ लाख हाराहारी पर्ने मोडल यसअघि धेरै आयात भएको हो ।

आकर्षक मूल्यमा एसयूभी डिजाइन, पर्याप्त रेन्ज र आधुनिक फिचर पाइने भएकाले ग्राहकको ध्यान भिगोले तानेको हो । बजारमा यसको मूल्य एटो २ भन्दा कम हुनु र फिचरमा पनि सम्झौता नहुँदा यसले सफलताको स्वाद चाखेको हो ।

फरक डिजाइन र अफरोड लुकले भी-२३ चल्यो

आइकार भी-२३ साँढे सात महिनामा ४६२ युनिट आयात भएको छ । बलियो एसयूभी डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र अफरोड शैलीको बाहिरी बनावटका कारण यसले धेरैको ध्यान खिच्यो ।

नेपालजस्तो पहाडी भूगोलमा सामान्य क्रसओभरभन्दा फरक र बलियो देखिने एसयूभी खोज्ने ग्राहकका लागि भी-२३ले नयाँ विकल्प दियो ।

प्रविधि र प्रिमियम खोज्नेले रोजे दिपल एस-०५

दिपल एस-०५को आयात ४५४ युनिट भयो । साँढे सात महिनामा ६० लाख माथि पर्ने एस-०५ आयात हुनु र बिक्री हुनु आफैँमा ठूलो तथ्यांक हो ।

सामान्य बजेट एसयूभीभन्दा माथिल्लो स्तरको प्रविधि, डिजाइन र ड्राइभिङ अनुभव खोज्ने ग्राहकको रोजाइमा पर्दा दिपल एस-०५ ले सफलता पाएको हो ।

ठूलो स्क्रिन, स्न्यापड्रागनको ८१५५ चिप, उन्नत एडास फिचर, ठूलो केबिन र शक्तिशाली मोटर यसको मुख्य आकर्षण हो । नेपालमा दिपल ब्रान्डले छोटो समयमै हासिल गरेको जनविश्वासले एस-०५को माग बढाउन सहयोग गरेको देखिन्छ ।

बलियो ब्रान्ड प्रभावको फाइदा पन्च ईभीलाई

टाटा पन्च ईभी ३९२ युनिट आयात भएको छ । भारतीय ब्रान्ड टाटाको लामो समयदेखि निरन्तर बजारमा उपस्थिति, कम्प्याक्ट आकार, एसयूभी डिजाइन र तुलनात्मक रूपमा पहुँचयोग्य मूल्य भएको कारण पन्च ईभी बिक्री भयो ।

विशेषगरी सहर र तराई क्षेत्रका उपभोक्ताको रोजाइमा पन्च ईभी पर्न सफल भयो । साथै, ह्याचब्याकभन्दा फरक एसयूभी स्वरूप चाहने ग्राहकका लागि पन्च ईभी उपयुक्त विकल्प बनेको देखियो । उच्च ग्राउन्ड क्लियरेन्स, सनरुफ र टाटाको सर्भिस लगायतका सुविधाले पनि पन्चलाई अब्बल बनायो ।

यी पाँच मोडलको बजार संकेत

माथि चर्चा भएका यी पाँच मोडलको आयात र बिक्री तथ्यांकले नेपालको ईभी बजारमा एउटा महत्वपूर्ण परिवर्तन आएको देखिन्छ । अब उपभोक्ता केवल सस्तो वा धेरै रेन्ज भएको गाडीभन्दा डिजाइन, एसयूभी स्वरूप, फिचर, प्रविधि, ब्रान्ड र मूल्यको सन्तुलन खोज्न थालेका छन् ।


Back_to_top