काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीले नेपालमा ऐतिहासिक कीर्तिमान बनाएको छ । बीवाइडीले नेपालमा ११ हजार गाडी आयात (बेच्ने) पहिलो विद्युतीय ब्राण्डको रेकर्ड बनाएको हो ।
नेपाली बजारमा ३ दर्जन बढी ईभी ब्राण्ड रहे पनि ११ हजारको माइलस्टोन पूरा गर्ने बीवाइडी पहिलो ब्राण्ड हो । बीवाइडी नेपालमा औपचारिक रूपमा सन् २०१७ मा प्रवेश गरे पनि यो सफलता पछिल्लो ६२ महिनामा हात पारेको हो । कम्पनीले सन् २०२१ जुनदेखि २०२६ अगष्ट १५ सम्म कुल ११ हजार ३३३ युनिट ईभी बिक्री गरेको हो । २०२१ अघि बेचेकासहित जोड्ने हो भने करिब ११ हजार ३५० युनिट पुगेको छ ।
बीवाइडी नेपाल आएको ९ वर्ष भए पनि उल्लेख्य संख्यामा गाडी बेच्न थालेको ४ वर्ष मात्रै भएको छ । कम्पनीले सन् २०२२ देखि मात्रै चार अंकको संख्यामा गाडी बेच्न सफल भएको हो । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०१७ मार्चमा पहिलो पटक बीवाइडीको विद्युतीय एमपीभी ई ६ नेपाल भित्र्याएको थियो । प्यासेन्जर कार भने सन् २०२२ अक्टोबरदेखि मात्रै बेच्न थालेको थियो ।
ग्राहकको आवश्यकता र चाहना अनुसारका नयाँ मोडल ल्याउनु, डिलर, सर्भिस नेटवर्कसँगै चार्जिङ पूर्वाधार देशव्यापी विस्तार गर्नु बीवाइडीको सफलताको कडी हो ।
साइमेक्सले हाल बीवाइडीका इन्ट्री लभेल ह्याचब्याकदेखि अल्ट्रा लग्जरी एसयूभीसम्म बिक्री गर्दै आएको छ । मूल्यका आधारमा ३१ लाखदेखि झण्डै ४ करोडसम्मका गाडी बिक्री गर्छ । बीवाइडीले एमपीभी, एसयूभी, सेडान र पिकअप गरी हालसम्म बीवाइडीका ११ मोडल नेपाल ल्याएको छ । सोमध्ये (डल्फिन र ई ६ बाहेक) अरू मोडल हाल बिक्री गरिरहेको छ । हाल बीवाइडीका एम ६, एटो ३, एटो २, एटो १, सिलायन ७, डेन्जा डी ९, बी५, बी८, सिल, शार्क र एम ६ मोडल उपलब्ध छन् ।
कम्पनीले बिक्रीसँगै डिलर, सर्भिस सेन्टर र चार्जिङ स्टेसन तीव्र रूपमा विस्तार गरिहरेको छ । हाल बीवाइडीको देशभर डेढ दर्जन बढी शोरुम, सर्भिस सेन्टर र ६० बढी चार्जिङ स्टेसन छन् ।
कुन वर्ष कति बेच्यो ?
बीवाइडीले सन् २०१७ मा पहिलोपटक ५ युनिट ई सिक्स ल्याएको थियो । त्यसपछि सन् २०२० सम्म आयात गरेको देखिँदैन । साइमेक्सले सन् २०२१ मा २६ युनिट अल न्यू ई सिक्स नेपाल ल्याएको थियो ।
वीवाइडी सन् २०२२ अक्टोबरदेखि नेपालमा प्यासेन्जर कार सेग्मेन्टमा प्रवेश गर्यो । सो वर्ष कम्पनीले १० युनिट एटो थ्री र ८५ युनिट ई ६ गरी कुल ९५ युनिट ईभी नेपाल भित्र्याएको थियो ।
सन् २०२३ देखि भने बीवाइडीको बिक्रीले रफ्तार समातेको छ । यो वर्ष कम्पनीले कुल २०८४ युनिट ईभी आयात गरेको थियो । जसमा १५३२ युनिट एटो थ्री, ५५१ युनिट डल्फिन र १ युनिट सिल ल्याएको थियो ।
त्यस्तै, सन् २०२४ मा कीर्तिमानी ३ हजार ५३० युनिट ईभी बिक्री गर्यो । जसमा २०६८ युनिट एटो थ्री, १ युनिट एटो वान, १३५५ युनिट डल्फिन, १ युनिट सिलायन सेभेन, ४ युनिट सिल र १०१ युनिट एम ६ रहेका छन् ।
सन् २०२५ मा साइमेक्सले बीवाइडीका ३ हजार ४८७ युनिट ईभी नेपाल ल्याएको थियो । जसमा एटो थ्री ६३६ युनिट, नयाँ मोडल एटो टु १०७२ युनिट, एटो वान ८३० युनिट, डल्फिन ५३५ युनिट, सिलायन सेभेन २७१ युनिट, सिल १ युनिट र एम ६ १४२ युनिट रहेका छन् ।
सन् २०२६ मा पनि आयात रफ्तारमै देखिएको छ । अगष्ट १५ (साढे ७ महिना)मा साइमेक्सले २ हजार ११२ युनिट बीवाइडीका ईभी नेपाल ल्याएको छ । जसमा एटो थ्री ५३ युनिट, एटो टु १४०३ युनिट, एटो वान ४७१ युनिट, सिलायन सेभेन १७६ युनिट, डेब्जा बी५/बी८ सात युनिट, डेन्जा डी ९ र एम ६ समान १/१ युनिट नेपाल ल्याएको छ । यो वर्षको ४ महिना अझै बाँकी रहेको र चाडवाड सिजन नजिएकाले अझै आयात बढ्ने देखिन्छ ।
कुन मोडल कति
साइमेक्सले हालसम्म बीवाइडीका ११ मोडल नेपाल ल्याएको छ । तीमध्ये हाल ८ मोडल (डल्फिन र ई ६ बाहेक) बिक्री हुँदै आएका छन् । जसमा ३ मोडलले २ हजार युनिटको आँकडा पार गरिसकेका छन् ।
कम्पनीले सबैभन्दा धेरै ४२९९ युनिट एटो थ्री एसयूभी नेपाल ल्याएको छ । २०२२ अक्टोबरमा नेपाल आएको एटो थ्री ५ वर्षमा उक्त संख्यामा बिक्री भएको हो ।
दोस्रो धेरै एटो टु ल्याएको छ । गत साउनमा मात्रै नोपल आएको एटो टु १ वर्षमै २४७५ युनिट भित्रिएको हो । यो अहिले नेपालमा सर्वाधिक रुचाइएको ईभी मोडलमा पर्छ ।
त्यस्तै, डल्फिन ह्याचब्याक २४४१ युनिट आयात भएको छ । २०२४ डिसेम्बरमा नेपाल आएको डल्फिन २ वर्षमै उक्त संख्यामा आयात भएको हो । कम्पनीले ह्याचब्याक सेग्मेन्टमा नयाँ मोडल एटो वान ल्याउन थालेसँगै गत वर्षदेखि भने डल्फिनको आयात रोकेको छ ।
चौथो धेरै एटो वान १३०२ युनिट आयात भएको छ । २०२४ डिसेम्बरमा १ युनिट नेपाल आएको एटो वान २०२५ मा ८३० र २०२६ मा ४७१ युनिट आयात भएको हो ।
अन्य मोडलको आयात भने १ हजारभन्दा कम छ । साइमेक्सले प्रिमियम एसयूभी ४४८ युनिट ल्याएको छ । २०२४ अगष्टमा नेपाल आएको यो एसयूभी सो वर्ष १ युनिट, २०२५ मा २७१ र २०२६ मा १७६ युनिट आयात भएको हो ।
त्यसैगरी, एम ६ एमपीभी २४४ युनिट, डेन्जा बी५/बी ८ प्लगइन हाइब्रिड एसयूभी ७ युनिट, सिल सेडान ६ युनिट र लग्जरी एसयूभी डेन्जा डी ९ एक युनिट आयात भएको छ ।


