काठमाडौं । संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाडौं उपत्यकाका ६ रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा संचालन हुने भएको छ ।
बुधबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा संचालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारी बीचको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गएको वैशाख १ गतेदेखि नागढुंगा-एयरपोर्ट र लगनखेल- बुढानीलकण्ठ रुटमा ७ वटा रात्रि बस संचालनमा गर्दै आएका छन् ।
अहिले उक्त सेवालाई विस्तार गर्दै थप ४ रुटमा रात्रिबस संचलन गरिने भएको हो । बैठकको निर्णय अनुसार उपत्यकाको उत्तर दक्षिण र पूर्व पक्षिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस संचालन हुनेछन् ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा संचालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विज्ञहरूको कार्यदलले दिएको सुझाव अनुसार रात्रिकालीन बस सेवा विस्तार गर्न लागिएको बताइन् । उनले नाफाघाटाभन्दा पनि जनाताको सुविधाको लागि रात्रि बस सेवा विस्तार गरिएको बताइन् ।
‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ । त्यसपछि विज्ञहरुको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ । यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि ३ वटा विकल्प दिएको छ । यसमध्ये उपत्यकाका नगरपालिकाहरुको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ,’ उनले भनिन् ।
उनले अहिले भाडा बढाउने तर्फ नसोची नागरिकलाई सुलभ र सहज सेवा दिने बताइन् । रात्रि सेवा संचालनका लागि नपुग रकम जनघनत्व, आकार र स्थानीय तहको क्षमताअनुसार दायित्व लिनुपर्ने प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई पारित गर्दै बैठकले वित्तीय साझेदारीमा सेवा संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले, रात्रिकालिन बस सेवा संचालनको रुट परमिट सहजताका लागि विद्यमान यातायात सम्बन्धी कानुनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने, रात्रिकालिन सहरी जीवन प्रवर्धन गर्न काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा जात्रा पर्व, मेला, महोत्सव आयोजना गरी रात्रिकालीन जीवनशैलीलाई सक्रिय बनाउने निर्णय गरेको छ ।
यस्तै, साझा यातायातमार्फत हुने सेवालाई थप प्रभावकारी बनाउन, यात्रु संख्या वृद्धि गर्न, गन्तव्य स्थलमा चार्जिङ स्टेशन निर्माण गर्न तथा रात्रिकालिन बस पार्कको व्यवस्थापनका लागि सम्बद्ध स्थानीय तहले आवश्यक सहयोग तथा सहजीकरण गर्ने निर्णय भएको छ ।


