काठमाडौं । लामो समयदेखि संकटमा रहेको चिनियाँ अटो निर्माता जोट्ये अटोले विद्युतीय कार तयार पारेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै विकास गरेको विंक वाई-०१ इन्टरनेसनल एडिसन ‘विंक वाई-०१’को परीक्षण उत्पादन थालेको हो ।
कम्पनीका अनुसार नयाँ मोडलको ट्रायल उत्पादन सुरु हुनु उत्पादन पुनः सञ्चालन गर्ने योजनातर्फको महत्वपूर्ण कदम हो । यसअघि कम्पनीले नयाँ मोडलका लागि आवश्यक टुलिङ उपकरण उत्पादन केन्द्रमा ल्याइसकेको थियो भने झेजियाङ प्रान्तको योङकाङस्थित प्लान्टको पेन्ट लाइनमा उपकरण परीक्षणबाट प्रक्रियागत परीक्षणको चरणमा प्रवेश गरेको थियो ।
जोट्येको ‘एस प्लेटफर्म’मा आधारित ब्याट्री इलेक्ट्रीक ह्याचव्याक शहरी यातायातको लागि उत्कृष्ट हुने कम्पनीको दावी छ । यसको लम्बाइ ३९१२ एमएम, चौडाइ १७४५ एमएम, उचाइ १५४५ एमएम र ह्विलबेस २५२० एमएम रहेको छ ।
तर, कम्पनीले हालसम्म यसको मूल्य, ड्राइभिङ रेन्ज र विस्तृत पावरट्रेन सार्वजनिक गरेको छैन । त्यस्तै, ठूलो परिमाणमा उत्पादन गर्ने र बिक्री थाल्ने मितिपनि घोषणा गरेको छैन ।
कम्पनीले विदेशमा बिक्रीका लागि आवश्यक नियामकीय प्रमाणीकरण, बिक्री सञ्जाल निर्माण जस्ता प्रक्रिया भर्खर सुरु भएको जनाएको छ ।


