बेबी डिफेन्डर हाइब्रिड र ईभी दुवै पावरट्रेनमा आउने

काठमाडौं । ज्यागुअर ल्याण्ड रोभरले नयाँ ‘बेबी डिफेन्डर’लाई हाइब्रिड र प्योर इलेक्ट्रीकमा ल्याउने पुष्टि गरेको छ। यसअघि प्योर ईभी भर्सनमा मात्रै उपलब्ध हुने अनुमान गरिएको थियो ।

अहिले बाहिर आएको रिपोर्टअनुसार नयाँ मोडलको नाम डिफेन्डर स्पोर्ट हुन सक्नेछ । अहिले बिक्रीमा रहेको डिफेन्डरभन्दा सानो र सस्तो मोडलका रूपमा बजारमा आउनेछ । नयाँ मोडलको लम्बाइ ४.५ मिटरभन्दा केही बढी हुने अनुमान गरिएको छ । यसलाई कम्पनीले सन् २०२७ मा बजारमा उतार्नेछ ।

ज्यागुअर ल्याण्ड रोभरका अनुसार नयाँ डिफेन्डर विद्युतीय सवारीका लागि विकास गरिएको इलेक्ट्रीफाइ मोडुलर आर्किटेक्चर प्लेटफर्ममा आधारित हुनेछ। कम्पनीले उक्त प्लेटफर्मलाई हाइब्रिड पावरट्रेनसमेत प्रयोग गर्न मिल्ने गरी विकास गरेको जनाएको छ ।

विश्व बजारमा विद्युतीय सवारीको माग अपेक्षाअनुसार तीव्र गतिमा नबढेपछि जेएलआरले हाइब्रिडसहित विभिन्न पावरट्रेन विकल्पमा नयाँ मोडल ल्याउन लागेको हो । डिफेन्डर तथा डिस्कभरी ब्रान्डका प्रबन्ध निर्देशक मार्क क्यामरुनले ग्राहकलाई सम्भव भएसम्म धेरै विकल्प दिने कम्पनीको रणनीति रहेको बताए ।

नयाँ डिफेन्डरमा अफरोड क्षमता पनि प्राथमिकतामा रहनेछ । यद्यपि, फ्लोरमुनि ब्याट्री राख्नुपर्ने भएकाले हालको डिफेन्डरको तुलनामा ह्विल ट्राभल र आर्टिकुलेसन केही सीमित हुन सक्ने बताइएको छ । त्यसका बाबजुद नयाँ मोडल आफ्नो सेग्मेन्टमै उत्कृष्ट अफरोड क्षमता भएको डिफेन्डर बन्ने कम्पनीको दाबी छ ।

जेएलआरले नयाँ मोडलको विकास प्रक्रिया ‘धेरै अघि बढिसकेको’ जनाएको छ । यद्यपि, कम्पनीले यसको आधिकारिक नाम र लन्च मिति भने सार्वजनिक गरेको छैन ।


Back_to_top