काठमाडौं । जापानी अटोमोबाइल निर्माता निसानले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ कम्प्याक्ट विद्युतीय कार ‘पिक्सो’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको टिजरमार्फत नयाँ ए-सेग्मेन्ट विद्युतीय कार चाँडै बजारमा ल्याउने संकेत गरेको हो ।
निसानले पिक्सोको बारेमा धेरै प्राविधिक जानकारी सार्वजनिक गरेको छैन । तर, कम्पनीले यो कारलाई ‘आकारमा सानो तर व्यक्तित्वमा ठूलो’ हुने बताएको छ । युरोपमा उत्पादन हुने पिक्सो विशेषगरी युरोपेली ग्राहकलाई लक्षित हुनेछ ।
यसअघि सार्वजनिक भएका प्रोटोटाइप तस्बिरअनुसार पिक्सो रेनेल्ट ट्विङ्गोको पुनः डिजाइन गरिएको संस्करण हुने देखिएको छ । निसानले ट्विङ्गोको आधारभूत संरचना प्रयोग गरे पनि अगाडिको भागमा आफ्नै डिजाइन दिएको छ ।
पिक्सोमा परम्परागत तथा भारकुने हेडलाइट, नयाँ डिजाइनको हुड र क्युब आकारको मेस डिजाइन भएको अगाडिको इन्टेक दिइनेछ । पछाडिको भागमा पनि नयाँ डिजाइनका टेललाइट तथा परिमार्जित बम्पर देख्न सकिन्छ । नयाँ डिजाइनका ह्विलसहित कारको बाहिरी स्वरूपलाई निसानले आफ्नै पहिचान दिने प्रयास गरेको छ ।
कारको इन्टेरियर ट्विङ्गोसँग धेरै हदसम्म समान रहने अनुमान गरिएको छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेनमेन्ट स्क्रिन उपलब्ध हुने अनुमान गरिएको छ । मिनिमलिस्ट कन्ट्रोल र आकर्षक एक्सेन्टले इन्टेरियरलाई आधुनिक बनाउनेछ ।
पावरट्रेनतर्फ पिक्सोमा २७.५ किलोवाट आवरको ब्याट्री र ८० एचपी क्षमताको इलेक्ट्रीक मोटर प्रयोग हुने अपेक्षा छ। उक्त मोटरले १७५ एनएम टर्क उत्पादन गर्नेछ । यसले ०–१०० किलोमिटर प्रतिघण्टाको गति १२.१ सेकेन्डमा पूरा गर्ने र अधिकतम १३० किलोमिटर प्रतिघण्टाको गति लिन बताइएको छ ।


