काठमाडौं । चीनसँग व्यापार गर्ने दुई प्रमुख रसुवागढी र तातोपानी नाका बन्द भएसँगै व्यवसायीहरूले विकल्पमा धमाधम कोरलाबाट विद्युतीय सवारी आयात गर्न थालेका छन् ।
गत नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुकिङ लिएका ग्राहकलाई समयमै गाडी डेलिभरी दिन विकल्पमा कोरला हुँदै आयात गर्न थालेका हुन् ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार रसुवागढीनाका बन्द भए यता (भदौ १० देखि २५ सम्म) मात्रै कोरला नाका हुँदै ६४१ युनिट विद्युतीय सवारी भित्रिएका छन् ।
कार्यालय प्रमुख विदुर चुडालले भदौ १० देखि २५ गतेसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीको भन्सार जाँचपास गराइएको उनले बताए ।
अहिले पनि दैनिक रुपमा ठूलो संख्यामा कन्टेनर र ईभी आइरहेको उनले बताए । उनले शुक्रबार एक दिनमा मात्रै ७१ कन्टेनर र १०६ ईभी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेको बताए । भन्सार जाँचपास प्रक्रिया सहज र छिटो बनाउन कर्मचारी थपिएको उनले बताए ।
‘रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो क्रममा छ,’ उनले भने, ‘भदौ १० देखि २५ गतेसम्म मात्रै ४३४ कन्टेनर र ६४१ युनिट विद्युतीय कार जाँचपास भइसकेका छन् । आउने क्रम जारी छ ।’
मुख्यगरी चीनबाट सवारी ल्याउने व्यवसायीहरूले कोरलाबाट धमाधम गाडी ल्याइरहेका हुन् । उनीहरूले बुकिङ गरेका ग्राहकलाई आफ्नो गाडी आइरहेको र चाँडै डेलिभरी दिने जानकारी समेत गराइरहेका छन् । भारत, थाइल्याण्ड लागायत देशबाट सवारी आयात गर्ने व्यवसायीलाई भने कुनै समस्या छैन ।
कोरला नाका हुँदै बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेको हो ।
उनका अनुसार पछिल्लो १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको जानकारी दिए । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको उनको भनाइ छ ।
चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा २ अर्ब ३१ करोड ४४ लाख राजस्व संकलन भएको छ ।
गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ देखि मुस्ताङ भन्सार नियमित रूपमा संचालनमा ल्याएको थियो । गत वर्ष कोरला हुँदै करिब ३ हजार विद्युतीय सवारी आयात भएको थियो भने कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।


