काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा-लौकही सडकको तेस्रो खण्ड स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको छ ।
सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी)ले इटहरी-लौकही १५.७४ किलोमिटर सडक स्तरोन्नति गर्न ग्लोबल टेन्डर आह्वान गरेको हो ।
काँकडभिट्टा-लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किमी सडक यसअघि नै ठेक्का लागेर काम भइरहेको छ । यस सडकलाई काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी (पूर्वीखण्ड) र सीतापुरबाट इटहरीसम्म ५०.६ किमी (पश्चिमखण्ड)मा विभाजन गरिएको छ ।
हाल दुई लेनमा रहेको यो एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गर्न लागिएको हो । यो सडक ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएको ५ वर्षसम्म ठेक्का पाउने कम्पनीले नै मर्मत सम्भार गर्नुपर्नेछ ।
यो सडक कुल ५० मिटरसम्म फराकिलो हुनेछ । सहरी क्षेत्रमा ६ लेनको बनाइने छ । साथै, मुख्य सडकको दुवैतर्फ सर्भिस लने समेत निर्माण हुनेछ। अर्धसहरी क्षेत्रमा ३७.४ मिटर र ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर फराकिलो हुनेछ ।
इच्छुक कम्पनीहरूले आगामी असोज २२ गतेसम्म आवेदन पेश गर्न सक्ने छन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने एडीबी निर्देशनालयले जनाएको छ ।


