काठमाडौं । गाडी किन्ने मानिसले एउटा मात्रै कुरा हेरेर किन्दैन । उसले आफ्नो जीवनभरको कमाइ खर्चेर किन्ने गाडीका बारेमा राम्रै जानकारी राखेको हुनुपर्छ ।
नेपाली बजारमा एकपछि अर्को नयाँ ब्राण्ड आइरहेका छन् । आएका सबै ब्राण्डका उत्पादन राम्रा छन् भन्ने पनि हुँदैन । राम्रो भए पनि सबै उत्पादन चल्छन् भन्ने पनि हुँदैन । त्यसैले उपभोक्ताले अध्ययन गरेर आफ्नो गाडी छनोट गर्नु पर्ने अवस्था आएको छ ।
यही समय नेपाली बजारमा दुई ह्याचब्याक कार प्रोटोन इमास फाइभ र चेरी क्यू प्रवेश गरेका छन् । यी दुवै प्रोडक्ट डिजाइनका हिसाबले राम्रा छन् । फिचरहरू भरिपूर्ण छन् । धेरै फिचर एउटै वा उस्तै छन् । महत्वपूर्ण कुरा मूल्यमा पनि कडै प्रतिस्पर्धा हुने देखिन्छ ।
खासगरी ३० देखि ४० लाख रुपैयाँ हाराहारीको सेग्मेन्टमा यी दुई उत्पादन उपलब्ध छन् । चेरी क्यू र प्रोटोन इमास फाइभ दुवैमा रियर ह्वील ड्राइभ, राम्रो कर्नरिङ, स्थिर ड्राइभिङ र पर्याप्त पावर भएका कार हुन् । त्यसैले त यी दुई मोडल एकअर्काका कडा र सिधा प्रतिस्पर्धी देखिन्छन् ।

मूल्य, ब्याट्री, पावर, व्यावहारिकता र नेपालका सडक अवस्था अनुसार पनि यी दुई मोडल साँच्चै प्रतिस्पर्धी हुन् ।
कुनको बलियो पक्ष के ?
चेरी क्यूको सबैभन्दा ठूलो आकर्षण मूल्य हो । यसको नियमित मूल्य कम्फर्टमा ३४ लाख ४९ हजार र प्रिमियममा ३५ लाख ९९ हजार रुपैयाँ छ । तर, नाइमा तथा नाडा अटो शोमा क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको थियो ।
चेरी क्यू मोडलको दुवै भेरियन्टमा समान ४१.३ किलोवाट आवर क्षमताको ब्याट्री, ९० किलोवाट क्षमताको मोटर छ । यसले सिंगल चार्जमा ३०० किलोमिटर आसपासको रेन्ज दिने छ ।

अन्य फिचरमा पनि चेरी क्यू बलियो छ । यसमा १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स, ५४० डिग्री सराउण्ड भ्यू क्यामेरा, १५.६ इन्चको टचस्क्रीन र एडास भित्रका अन्य थुप्रै फिचर छन् ।
चेरी क्यूमा ३७५ लिटरको बुट स्पेस छ । पछाडिको सिट फोल्ड गरेर १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिने भएकाले पारिवारिक प्रयोगमा पनि यो व्यावहारिक देखिन्छ ।
प्रोटोन इमास फाइभको सबैभन्दा बलियो पक्ष भनेको ड्राइभिङ डायनामिक्स र व्यावहारिकता हो । यसको प्रिमियम भेरियन्टमा ४०.१६ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री छ । यसमा मोटर भने ८५ किलोवाट क्षमताको छ । उक्त मोटरको पीकटर्क १५० न्यूटन मिटर छ । यसको डब्लूएलटीपी रेन्ज ३२५ किलोमिटर छ ।

इमास फाइभमा ३७५ लिटरको बुटसँगै ७० लिटरको फ्रंक, सिट मुनि २८ लिटर र सेन्टर कन्सोल मुनि २० लिटरको स्टोरेज दिइएको छ । मल्टिलिंक रियर सस्पेन्सन, ३६० डिग्री क्यामेरा, जी-ट्र्याक्सन कन्ट्रोल र भीटुएलजस्ता सुविधा पनि यसमा छन् ।
जगदम्बा मोटर्सले नेपालमा बिक्री गर्दै आएको इमास फाइभ प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ छ । प्रिमियम भेरियन्टमा ८५ किलोवाटको ११-इन-१ मोटर पाउन सकिन्छ ।
मूल्य खोज्नेका लागि चेरी, ड्राइभिङ खोज्नेका लागि इमास
अहिले सिधा भन्दा दुवै गाडी चलाउँदा रियर ह्वील ड्राइभका कारण कर्नरिङ र स्थिरता राम्रो छ । तर, नेपालको सडक, मूल्य संवेदनशील बजार र दैनिक प्रयोगलाई आधार मान्दा चेरी क्यू ‘भ्यालु फर मनी’ हो कि भन्ने लाग्छ ।

तर, ड्राइभिङ अनुभव, सस्पेन्सन, स्टोरेज र प्रिमियम अनुभवलाई प्राथमिकता दिने ग्राहकका लागि प्रोटोन इमास फाइभ प्रिमियम बढी उपयुक्त विकल्प बन्नेछ । नेपालमा पहाडी तथा घुमाउरो सडकमा रियर मल्टिलिंक सस्पेन्सनको साथमा रहेको रियर ह्वील ड्राइभ सेटअपले यसलाई रोचक बनाउँछ ।
त्यसैले, मूल्यलाई अधिक प्राथमिकता दिने ग्राहकको लागि चेरी क्यू राम्रो हुनसक्छ । जबकि ड्राइभिङ डायनामिक्स र प्रिमियम फिचर प्राथमिकतामा राख्नेको लागि प्रोटोन इमास फाइभ उपयुक्त हुनसक्छ ।


