चितवन । चितवनमा चांगानको नयाँ इलेक्ट्रीक एसयूभी नेभो क्यू ०५ बिक्री सार्वजनिक भएको हो ।
एमएडब्लू वृद्धि अटोकर्प अन्तर्गतको अधिकृत चांगान डिलर राजहंस अटोमोबाइलले चितवनमा ‘नेभो क्यू ०५’ बिक्री सुरू गरेको हो ।
कम्पनीले चितवनका लागि नेभो क्यू ०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१.९९ लाख रुपैयाँ तोकेको छ । ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रिजालचोकस्थित दीपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत यस गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपाल बजारका लागि चांगान नेभो क्यू ०५ एक कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो । जसलाई आराम, बनावट र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रणका रूपमा तयार पारिएको छ ।
आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर बनाइएको यस एसयूभीमा २,७३५ मिलिमिटरको लामो ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिता रहेको छ । जसले गर्दा पछाडिको सिटमा तीन जना वयस्क व्यक्तिहरू सहजै बस्न सक्छन्। पछाडिको सिटमा २८ र ३३ डिग्रीका दुईवटा ढल्काउन मिल्ने (रिक्लाइनिङ) पोजिसनहरू दिइएका छन्।
सामान राख्नका लागि यसमा ५४० लिटरको मुख्य बुट, ९० लिटरको लुकेको स्टोरेज र २९ वटा व्यावहारिक साना स्टोरेज स्पेसहरू छन् । साथै ६७ भन्दा बढी स्थानमा साउण्ड इन्सुलेसन प्रविधि प्रयोग गरी बाहिरी आवाजलाई कम गरिएको छ। माथिल्लो भ्यारियन्टमा १.८ वर्गमिटरको ठूलो प्यानोरामिक सिसाको छाना र पावर सनसाइड उपलब्ध छ ।
भक्सवागन समूहका पूर्व डिजाइन प्रमुख तथा हाल चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जाइसियोराको नेतृत्वमा ३१ देशका ९१५ भन्दा बढी डिजाइनरहरूले यसको डिजाइन तयार पारेका हुन्।
आँखा लोभ्याउने बनावट र ०.२६५ ड्रयाग कोएफिसियन्ट एरोडायनामिक प्रोफाइल रहेको यस गाडीले सन् २०२६ को गोल्डेन ए डिजाइन अवार्ड समेत जितेको छ। यसमा डिजिटल विङ २.० फुल वाइड्थ लाइटिङ, स्टार रिङ म्याट्रिक्स एलईडी टेललाइट र सेमि प्रिमियम डोर ह्याण्डलहरू रहेका छन्।
नेभो क्यू ०५ मा गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधिसहित सीएटीसीएल ब्याट्री सेल प्रयोग गरिएको छ । यसको ३सी फास्ट चार्जिङ प्रणालीले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म मात्र १५ मिनेटमा चार्ज गर्न सक्छ।
यसमा रहेको १२० किलोवाटको विद्युतीय मोटरले ० देखि १०० किमी प्रतिघण्टाको गति मात्र ८.१ सेकेण्डमा लिन सक्छ। यसले डब्लूएलटीपी परीक्षण अनुसार एकपटकको फुलचार्जमा ४०५ किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटरमा १२.९ किलोवाट आवर रहेको छ।
यसको क्याबिनमा १४.६ इन्चको फुल एचडी टचस्क्रीन, ७ न्यानोमिटरको द्रुत प्रोसेसर, वायरलेस एम्पल कारप्ले र एन्ड्रोइड अटो जडान गर्न सकिन्छ। सुरक्षाका लागि यसमा १८ वटासम्म ड्राइभर असिस्टेन्स सुविधासहितको एडास, ५४०डिग्री प्यानोरामिक क्यामेरा लगायत उपलब्ध छ ।


