२५ लाखभन्दा कममै विद्युतीय कार खोज्नेलाई उत्कृष्ट ३ विकल्प

काठमाडौं । नेपालमा विद्युतीय कार (ईभी) को प्रयोग बढ्दो छ । कुल बिक्री हुने नयाँ कारमध्ये ७० प्रतिशत बढी हिस्सा ईभीको रहेको छ ।

बजारमा ३ दर्जन बढी ब्राण्डका ईभी उपलब्ध छन् । जसमा मिनी ईभीदेखि ह्याचब्याक, एसयूभी, सेडान, प्रिमियम कार उपलब्ध छन् । मूल्यका हिसाबमा १९ लाखदेखि ३ करोड माथिका ईभी किन्न पाइन्छ ।

नेपालमा धेरै सेग्मेन्टका कार उपलब्ध रहे पनि एसयूभी र ह्याचब्याकको दबदबा छ । कुल बजारको ९५ प्रतिशत बढी हिस्सा यिनको छ । ह्याचब्याकको मूल्य करिब ३० लाख माथि र एसयूभी ३५ लाख माथि रहेको छ ।

सस्तो मूल्यका ईभी खोज्नेलाई लक्षित गर्दै बिक्रेताहरूले बजारमा मिनी ईभी पनि उपलब्ध गराएका छन् । मिनी ईभी सस्तो मूल्य, छरितो, किफायति र सहर भित्रै यात्रा गर्नेका लागि निकै उपयुक्त हुन्छन् ।

हाल नेपालमा आधा दर्जन बढी ब्राण्डका मिनी ईभी किन्न पाइन्छ । केई, एमजी, वुलिङ, होनरी बोमा, हेनरी, बीएडब्लू, जिनपिङ, हाउजी लगायत ब्राण्डका मिनी ईभी उपलब्ध छन् । अधिकांश मिनी ईभीको मूल्य १९ लाखदेखि २५ लाख हाराहारीमा रहेको छ ।

बजारमा एउटै मूल्य रेन्जमा धेरै कार उपलब्ध हुँदा उपभोक्तालाई कुन किन्ने भन्ने अन्योलता समेत हुने गर्छ । यस्तोमा तुलनात्मक अध्ययन गरी उत्कृष्ट कार रोज्नुपर्छ ।

यहाँ हामीले मूल्य, आधुनिक प्रविधि, सेफ्टी फिचर, साइज, रेन्ज, व्यवहारिकता, ब्राण्ड भ्यालु लगायत आधारमा २५ लाखभन्दा कममा पाइने उत्कृष्ट तीन विद्युतीय कारको चर्चा गरेका छौं ।

केई इक्युट ०२

चिनियाँ अटोमोबाइल उत्पादक चेरीको सबब्राण्ड केईको इक्युट ०२ सस्तो कार खोज्नेलाई आकर्षक विकल्प हो । नेपालमा लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले इक्युट ०२ ईभी २२ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएका छन् । अहिले विशेष छुट अफरमा २० लाख ९६ हजार रुपैयाँमै किन्न पाइन्छ ।

केई इक्युट ०२ मा ४० किलोवाट क्षमताको मोटर छ । यसमा २०.८ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा २०० किलोमिटर बढी रेन्ज दिन्छ ।

इक्युट ०२ को लम्बाइ ३३४५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६०५ एमएम छ । यसमा २१५० एमएमको ह्वीलबेस छ । इक्यूटमा फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्याण्डल र पछाडि एरोडाइनामिक टेलविङ दिइएको छ ।

इक्युट ०२ को इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ । सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ ।

इक्यूट ०२ मा डुअल एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा छ ।

एमजी कोमेट ईभी

मिनी ईभी खोज्नेलाई अर्को एउटा आकर्षक विकल्प हो एमजी कोमेट । यो नेपालमा विगत ४ वर्षदेखि बिक्री हुँदै आएको छ । हाल जीएसडब्लू एमजी इण्डिया मोटरको आधिकारिक बिक्रेता बिक्रेता जीओ अटोमोबाइल्सले कोमट ईभी बिक्री गरिरहेको छ । कम्पनीले यसको मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकेको छ ।

एमजी कोमेटमा १७.३ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी छ । ४५ किलोवाटको फास्ट चार्ज सपोर्ट गर्ने यो ईभी ४५ मिनेटमा शून्यदेखि १०० प्रतिशत चार्ज हुन्छ ।

यसमा ३१ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले ४२ पीएस पावर प्रदान गर्छ । यसको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमए र उचाइ १६४० एमएम छ । यसमा २०१० एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।

१६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको कोमेट ईभीमा डुअल, भर्टिकल्ली स्ट्याक्ड हेडल्याम्प, एलईडी डीआरएल, एलईडी लाइट पनि दिइएको छ । यसमा १०.२५ इन्चको हेड युनिट, १०।२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, भोइस कमाण्ड, मल्टी फङसनल स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।

यसमा सुरक्षाका लागि अगाडि २ वटा एयरब्याग, एबीएस, ईबीडी, रिभर्स पार्किङ क्यामेरा लगायत फिचर छन् ।

वुलिङ मिनी ईभी

वुलिङ मिनिी ईभी नेपाली बजारमा सस्तो कार खोज्नेलाई नयााँ विकलप हो । पारामाउन्ट मोटर्सले गत साउनमा नाइमा मोबिलिटी एक्स्पोमा वुलिङ मिनी ईभी लन्च गरेको थियो ।

वुलिङ मिनी स्ट्याण्डर्ड र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा स्ट्याण्डर्ड भेरियन्टको मूल्य २० लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको २२ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

४ ढोके यो मिनी ईभीको लम्बाइ ३२६८ एमएम, चौडाइ १५२० एमएम र उचाइ १५७५ एमएम छ । कम्पनीले यसमा ३० किलोवाट क्षमताको ‘थ्री इन वान’ मोटर दिएको छ । जसमा ३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । स्टायण्डर्ड, ईको र स्पोर्ट मोड आवश्यकता अनुसार चालकले प्रयोग गर्न सक्नेछन् ।

मिनी ईभीमा १६.२ किलोवाट आवर र २५.१ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः २०५ र ३०१ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । डीसी चार्जरको प्रयोग गर्न सकिने मिनी कारलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ३५ मिनेट लाग्नेछ ।

यसमा मोबाइल एप कनेन्टिभिटी उपलब्ध कारमा थुप्रै सुरक्षा फिचर छन् । इलेक्ट्रीक पार्किङ ब्रेक, दुई एयरब्याग, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड, डाइनामिक ब्रेक फङ्सन, ट्रयाक्सन कन्ट्रोल, हाइड्रोलिक ब्रेक असिस्ट, अटो होल्ड जस्ता फिचर छन् ।


Back_to_top