कोची । भारतको केराला राज्यस्थित सुन्दर र रमणीय शहर कोचीबाट विभिन्न शहरी क्षेत्र हुँदै प्लान्टेसन भ्यालीसम्म करिब ११० किलोमिटरको यात्रा गर्दा एमजीको नयाँ विद्युतीय एसयूभी ‘हेक्टर टोमहक’लाई नजिकबाट अनुभव गर्ने अवसर मिल्यो ।
व्यस्त शहरी सडक, खुला तथा फराकिलो सडक, हरियाली क्षेत्र, नेशनल पार्क र प्रसिद्ध चार्पा झरना आसपासको घुमाउरो सडक हुँदै गरिएको यो ड्राइभ सामान्य सडकमा मात्र सीमित थिएन ।
फरक-फरक सडक र ट्राफिक अवस्थाले टोमहकको पावर, आराम, सस्पेन्सन, ह्याण्डलिङ र रेन्जको व्यवहार बुझ्ने अवसर दिएको थियो ।
ठूलो आकार, आक्रामक डिजाइन
हेक्टर टोमहकको पहिलो प्रभाव नै यसको ठूलो आकार र बलियो उपस्थितिले पार्छ । यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७७० एमएम छ । २८१० एमएम लामो ह्वीलबेसका कारण बाहिरबाट ठूलो देखिने यो एसयूभी भित्र पनि पर्याप्त ठाउँ उपलब्ध छ ।

फ्रन्ट डिजाइनमा एमजीले हेक्टरको परिचित स्वरूपलाई अझ आक्रामक बनाएको देखिन्छ । अगाडिको भागमा ठूलो ग्रिल, फराकिलो फ्रन्ट फेसिया र स्पोर्टी डिजाइन एलिमेन्ट प्रयोग गरिएको छ । माथिल्लो भागमा राखिएको स्लिम एलईडी डे टाइम रनिङ लाइट र मुख्य हेडलाइटको छुट्टै संरचनाले अगाडिबाट हेर्दा गाडीलाई चौडा र आधुनिक देखाउँछ ।
एलईडी लाइटको डिजाइनले टोमहकको फ्रन्ट फेसलाई अझ प्रिमियम बनाएको छ । विशेषगरी रातको समयमा यसको लाइट सिग्नेचरले गाडीको पहिचानलाई थप बलियो बनाउने देखिन्छ ।
साइड प्रोफाइलमा ठूलो एसयूभीको प्रभाव स्पष्ट देखिन्छ । लामो बोनट, ठूलो ग्लास एरिया, बलियो ह्वील आर्क र ठूलो ह्वीलले यसको एसयूभी चरित्रलाई थप प्रष्ट पार्छ । उच्च ग्राउण्ड क्लियरेन्स र ठूलो बडीका कारण साइडबाट हेर्दा टोमहक निकै मस्कुलर देखिन्छ ।
पछाडिको भागमा पनि डिजाइनलाई सरलभन्दा बढी बलियो र चौडा देखिने गरी तयार गरिएको छ । पछाडिको एलईडी लाइट डिजाइन, फराकिलो टेलगेट र बम्परको संरचनाले फ्रन्टसँग मिल्दोजुल्दो आक्रामकता कायम राखेको छ । इलेक्ट्रीक टेलगेट प्रयोग गर्न निकै सहज लाग्छ ।
२३० एमएम ग्राउण्ड क्लियरेन्स
हेक्टर टोमहकको अर्को आकर्षक पक्ष यसको २३० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स हो । नेपाली सडकका लागि हेर्दा यो निकै उपयोगी हुन सक्छ ।
तर, अग्लो ग्राउण्ड क्लियरेन्स र ठूलो बडीका कारण तीव्र गतिमा घुम्ती लिँदा हल्का बडी रोल अनुभव हुन्छ । यद्यपि, यसको अर्थ गाडी अस्थिर छ भन्ने होइन । सस्पेन्सन सेटअपले यात्रालाई आरामदायी राख्ने प्रयास गरेको छ ।
कोचीबाट प्लान्टेसन भ्यालीतर्फको यात्रामा विभिन्न किसिमका सडकमा चलाउँदा सस्पेन्सनले सडकका सामान्य उतारचढावलाई राम्रैसँग सोसिरहेको अनुभव भयो ।
१५० किलोवाटको मोटर, ३१० न्युटन मिटर टर्क
हेक्टर टोमहकमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर प्रयोग गरिएको छ । यो फ्रन्ट ह्वील ड्राइभ एसयूभी हो । ड्राइभिङको क्रममा यसको पावर पर्याप्तभन्दा बढी नै महसुस भयो । सामान्य सडकमा ओभरटेक गर्न वा गति बढाउन स्पोर्टस् मोड नै रोज्नु पर्दैन । स्ट्याण्डर्ड ड्राइभिङ मोडमै पर्याप्त पावर पाइन्छ ।
३१० न्युटन मिटरको टर्क तत्काल उपलब्ध हुने भएकाले एक्सेलेरेटर थिच्ने बित्तिकै गाडीले प्रतिक्रिया दिन्छ । विशेषगरी उकालो सडक र ओभरटेकिङका क्रममा तत्काल टर्क उपलब्ध हुनु यसको बलियो पक्ष हो ।
स्पोर्टस् मोड प्रयोग गर्दा एक्सेलेरेटरको प्रतिक्रिया अझ तीव्र हुन्छ । तर, सामान्य प्रयोगमा स्ट्यान्डर्ड मोड नै पर्याप्त लाग्छ ।
६९.२ किलोवाट आवर ब्याट्री र रेन्ज
एमजीले टोमहक ईभीमा ६९.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ ।
भारतीय सडकमा गरिएको करिब ११० किलोमिटरको ड्राइभका क्रममा विभिन्न सडक अवस्था, ट्राफिक र ड्राइभिङ परिस्थितिको सामना गर्दा पनि यसको रेन्जलाई लिएर सकारात्मक अनुभव भयो ।
उपलब्ध ड्राइभिङ अनुभवका आधारमा भारतीय सडकको अवस्थामा यसले ४५० किलोमिटरभन्दा माथिको वास्तविक सडकमा चलाउँदा रेन्ज दिन सक्ने देखिन्छ । नेपाली सडक, ट्राफिक र ड्राइभिङ अवस्थाअनुसार वास्तविक रेन्जमा केही फरक पर्न सक्छ ।
त्यसैले नेपालमा ४०० किलोमिटरभन्दा माथिको रेन्ज प्राप्त गर्न सकिने अपेक्षा गर्न सकिन्छ । यद्यपि, वास्तविक रेन्ज मौसम, गति, सडक, एसीको प्रयोग र चालकको ड्राइभिङ शैलीमा निर्भर हुनेछ ।
आरामदायी क्याबिन
ठूलो ह्वीलबेसको फाइदा क्याबिनमा देखिन्छ । अगाडि र पछाडिका यात्रुका लागि पर्याप्त लेगरुम र हेडरुम उपलब्ध छ ।
सिटको बनोट आरामदायी छ । लामो दूरीको यात्राका लागि सिटले शरीरलाई राम्रो सपोर्ट दिन्छ । विशेषगरी भेन्टिलेटेड सिटले कोचीको गर्मीमा ठूलो राहत दियो ।
ड्यासबोर्डको डिजाइन र फिनिसिङ पनि प्रिमियम देखिन्छ । विभिन्न सतहमा प्रयोग गरिएको सामग्री, स्क्रीन र कन्ट्रोलको लेआउटले क्याबिनलाई आधुनिक अनुभव दिन्छ ।
ड्युअल जोन एसीले चालक र अगाडिका यात्रुलाई आफ्नो आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्न सकिने सुविधा दिन्छ । कोचीको गर्मीमा एसी र भेन्टिलेटेड सिटको संयोजन लामो ड्राइभमा निकै उपयोगी लाग्यो ।
५ र ७ सिट विकल्प
हेक्टर टोमहक ५ र ७ सिट क्षमतामा उपलब्ध छ । ५ सिट क्षमताको भेरियन्टमा ६१० लिटरको बुट स्पेस पाइन्छ । यसको पछाडिको सिट फोल्ड गरेपछि बुट क्षमता १०५३ लिटरसम्म पुग्छ ।
७ सिट क्षमताको भर्सनमा सबै सिट प्रयोग गर्दा बुट स्पेस १९२ लिटर मात्रै हुन्छ । पछाडिको सिट फोल्ड गरेपछि यसलाई ५२८ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
यसले परिवारका लागि प्रयोग गर्दा यात्रु संख्या र सामानको आवश्यकता अनुसार विकल्प रोज्न सकिने सुविधा दिन्छ । अर्को महत्वपूर्ण कुरा यसको बुटमा स्पेयर टायर पनि राखिएको छ ।
कलर छनोट
टेस्ट ड्राइभका क्रममा हरियो र कालो रङको गाडी उपलब्ध थियो । यी दुवै रङले टोमहकको ठूलो र मस्कुलर डिजाइनलाई फरक–फरक तरिकाले प्रस्तुत गर्छन् ।
कम्पनीका अनुसार बिक्रीका लागि सिल्भर, ब्ल्यू र ह्वाइट लगायतका रङमा पनि गाडी उपलब्ध हुनेछ ।
किन ‘टोमहक’ ?
‘टोमहक’ नाम आफैँमा बलियो पहिचान बोकेको नाम हो । आधुनिक समयमा ‘टोमहक’ शब्दलाई शक्ति, तीक्ष्णता र आक्रामक डिजाइनको प्रतीकका रूपमा लिने पाइन्छ ।
एमजीले आफ्नो विद्युतीय एसयूभीलाई यही नाम दिनुको उद्देश्य यसको बलियो र आक्रामक चरित्र झल्काउन खोजेको हो । नाम मात्रै सुन्दा टोमहक आक्रामक देखिन खोजेको भान हुन्छ ।
कोचीमा ११० किलोमिटरको ड्राइभपछि टोमहकलाई फर्केर हेर्दा ठूलो आकार, २३० एमएम ग्राउण्ड क्लियरेन्स, १५० किलोवाट मोटर, ३१० न्युटन मिटर टर्क र ६९.२ किलोवाट आवर ब्याट्रीले ‘टोमहक’ नामलाई गाडीको क्षमतासँग जोड्ने कोशीस आभाष हुन्छ ।
‘टोमहक’ नामले जस्तो बलियो र आक्रामक छवि बनाउँछ, गाडीको आकार, पावर र सडकमा देखाउने उपस्थितिले त्यसलाई केही हदसम्म पुष्टि गर्छ । अब नेपाली बजारमा ल्याउँदा घोषणा हुने मूल्य र कम्पनीको भावि योजनाले यसको प्रभाव तय गर्छ ।

