काठमाडौं । अटो व्यवसायीहरूको दुई फरक संस्थाले दुई अटो शो आयोजना गरे । साउन अन्तिम र भदौ दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ पछि पनि बजारमा उत्साह आउन सकेको छैन ।
खासगरी आर्थिक गतिविधि बढ्न नसक्नु, भोटेकोसीमा आएको भिषण बाढीको कारण हजाराैं मानिस हराउनु र खर्बौं रुपैयाँको क्षति हुँदा बजारमा चहल पहल नै बढ्न सकेन । भोटेकोसी बाढीको एक महिना हुँनै लाग्दा पनि मानिसले यसको पीडा भुल्न सकेका छैनन् ।
भोटेकोसी बाढीकै कारण चीनसँग व्यापार गर्ने प्रमुख नाका बन्द हुन पुग्यो । विभिन्न कम्पनीहरूले नेपाल ल्याउन लागेका कारहरू हराए । बीमा कम्पनीमा अर्बौंको दायित्व सृजना भयो । जसको कारण अहिले दशैंको मुखमा अटो बजार निकै सुस्त भयो ।
‘दशैं आउन लागेको भान नै भएको छैन । अटो शोमा बुकिङ गरेका सबैले गाडी किन्छन् भन्न सक्ने अवस्था पनि देखिँदैन,’ एक कार बिक्रेताले मेरोअटोसँग भने ।
बजारमा ठूलो चहलपहल नआएको सबै व्यवसायीको भनाइ छ । उनीहरू भन्छन्, ‘अघिल्ला वर्षमा अहिलेसम्म बिक्रीले रफ्तार लिइसक्थ्यो । यसवर्ष त्यस्तो छैन । एकाध मोडलमा आकर्षण छ । नत्र सबै मानिस ‘वेट एण्ड वाच’मा देखिएका छन् ।’
माथिको भनाइबाट नै प्रस्ट हुन्छ बिक्रेता र खरिदकर्ता ईभीमा धेरै आशावादी छन् । तर, पछिल्ला घटना क्रमले ईभी चढ्नेहरू डराएको अवस्था छ ।
आयातमा समस्या
रसुवागढी भन्सार नाका बगाउनु र तातोपानी भन्सार नाका चीनले बन्द गर्दा गाडी आयातमै समस्या देखियो । अहिले सबै चाडपर्वको लागि नेपाल ल्याइएका गाडीहरू मुस्ताङ भन्सार कार्यालय पुगेका छन् । त्यताबाट पनि सजिलै कार ल्याउने अवस्था छैन ।
गाडी सप्लाइमा समस्या हुँदा बिक्रेताहरू पनि चुपचाप काम गरिरहेका छन् । उनीहरू सकभर गाडी लिन्छु भन्नेहरूलाई दशैं अगाडि नै गाडी दिन सक्ने अवस्था बनाउन लागिपरेको बुझिन्छ ।
‘हामी आफ्नो कमिटमेन्ट अनुसारको गाडी उपभोक्तालाई दिन्छौं । त्यसको लागि गर्नुपर्ने कामहरू तीव्र गतिमा अगाडि बढाइरहेका छौं,’ चेरी ग्रुपका उत्पादन ल्याएर बिक्री गर्दै आएको एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव सारडाले मेरोअटोसँग भने ।
चिनियाँ भर्सेज इन्डियन
गाडी समयमा दिन नसकेको खण्डमा भारतमा बनेका ईभी धेरैको छनोट पर्ने देखिन्छ । अहिले चीन ईभीमा तीव्र विस्तार चाहन्छ । जहाँ वार्षिक १५ हजार कार बिक्री हुन्छ, त्यो स्थानमा १० हजार कार बिक्री गर्न सक्नेगरी चिनियाँ कम्पनीहरू काम गरिरहेका छन् । तर, सप्लाई उनीहरूको टाउको दुखाइ भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
यदि, चिनियाँ कार दशैंमा नपाएको खण्डमा भारतमा उत्पादन भएका ईभीहरूले राम्रो बजार हिस्सा पाउने आँकलन गर्न सकिन्छ । यसले भोलिका दिनमा थप प्रतिस्पर्धी बन्ने बाटोमा आफूलाई उभ्याउ भन्ने अवस्था आउने देखिन्छ ।
के छ पेट्रोल कारको बजार ?
ईभीको बिक्री कमजोर नै भए पनि पेट्रोल कारको अवस्था पनि धेरै राम्रो छैन । अहिले नेपालमा कुल बिक्री हुने कारमा २० प्रतिशत हाराहारी पेट्रोल कारको बजार रहेको छ ।
अघिल्लो वर्षकोभन्दा तल आउने अवस्थामा पेट्रोलियम पदार्थबाट चल्ने कारको अवस्था नरहे पनि ठूलो संख्यामा बढ्ने अवस्था पनि छैन ।

