काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको प्रयास गर्न थालेको घटनालाई गम्भीर संकटको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै राजधानीमा घटेका दुई घटनालाई उल्लेख गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।
मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनाको केही समयपछि सोमबार त्रिपुरेश्वरमा २५ वर्षीय दावा लामाले आफूले चलाउने सार्वजनिक बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। लामाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको छ।
भट्टराईले पहिले गणेश नेपाली र अहिले दावा लामाले राजधानीको केन्द्रमा दिनदहाडै आत्मदाहको प्रयास गरेको घटनालाई ‘असाध्यै चिन्ताजनक’ भएको बताएका छन्।
‘हाम्रा युवाहरूले यसरी आत्मदाहको बाटो रोज्नु भनेको हाम्रो राज्यप्रणाली र आर्थिक-सामाजिक परिस्थितिले उनीहरूलाई चरम निराशा र सबैप्रति अविश्वासको पराकाष्ठातिर उन्मुख गराइरहेको छ भन्ने गम्भीर संकेत हो,’ उनले भनेका छन्।
उनले यसलाई सत्तामा रहेका र नरहेका राजनीतिक शक्ति तथा सबै सरोकारवालाले गम्भीर संकटको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने बताएका छन्।
देशमा लामो समयदेखि चुलिँदै आएको अर्थराजनीतिक र भू-राजनीतिक समस्याको दिगो संरचनात्मक हल नभएसम्म जोसुकै सत्तामा बसे पनि उस्तै विपत्ति बेहोर्नुपर्ने उनको भनाइ छ।
‘कसैले पनि अर्को पक्षलाई ‘देखाइदिने’, ‘सडक संघर्षको आँधीबेहरी ल्याइदिने’ आदि आवेगात्मक कुरा गरेर मुठभेडको तयारी गर्नु आत्मघाती हुनेछ,’ भट्टराईले भनेका छन्।
उनले आत्मदाहको बाटो रोज्ने हतास युवाहरूको विद्रोहलाई हल्का ढंगले नलिन आग्रह गरेका छन्।

