मासिक ६० हजार कमाउनेले चढ्न सक्ने ६ इलेक्ट्रीक ह्याचब्याक

काठमाडौं । नेपालमा अझै पनि सवारी साधनलाई हेर्ने नजर संकिर्ण छ । सरकारले सवारीलाई अत्यावश्यक नभई विलासी साधनको रूपमा राख्दै आएको छ । त्यसैले सवारीमा लाग्ने करका दर निकै उच्च छ ।

कर धेरै भएकै कारण चारपाँग्रे सवारी धेरैको पहुँच बाहिर छ । दुईपाँग्रे सवारीको संख्या ५० लाख बढी भए पनि कार चढ्ने संख्या निकै कम छ । ३ करोड जनसंख्या भएको देशमा करिब साढे ४ लाख मात्रै निजी कार दर्ता छन् ।

हाल दुईपाँग्रे चढ्ने र नचढेका धेरैको कार चढ्ने सपना छ । तर, त्यसलाई पूरा गर्न नियमति र उच्च अंकको आम्दानी हुनु अनिवार्य छ । सामान्य आम्दानी हुनेकाे सामार्थ्यले कार चढ्न भ्याउँदैन ।

हाल नेपालमा इन्ट्री लेभलको कार चढ्न कम्तीमा पनि ५५/६० हजार रुपैयाँ आम्दानी हुनपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले सवारी साधनको हकमा ‘डेब्ट टु इनकम रेसियो’ ५० प्रतिशत तोकको छ । अर्थात् कुनै पनि व्यक्तिले आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकम मात्रै गाडीको किस्तामा खर्च गर्न पाइन्छ । सोभन्दा बढी किस्ता हुने गरी अटो कर्जा पाउँदैनन् ।

राष्ट्र बैंकको व्यवस्था अनुसार सवारी साधन खरिदका ४० प्रतिशत सुरूमै डाउन पेमेन्ट बुझाउनुपर्छ । बाँकी ६० प्रतिशत रकम ७ वर्षसम्मका लागि कर्जा पाइन्छ । यहाँ ६० हजार मासिक कमाइ हुनेले गाडीका लागि मासिक ३० हजार किस्ता तिर्न खर्च गर्न पाउँछ । सो आधारमा उसले ३४ लाख रुपैयाँ मूल्यसम्मका कार किन्न सक्छ ।

नेपाली बजारमा १८/२५ लाख हाराहारीमा मिनी कार पाइन्छ । तर, मिनीबार बाहेक इन्ट्री लेभलका इलेक्ट्रीक ह्याचब्याकको मूल्य कम्तीमा ३० लाख रुपैयाँ माथि छ । हाल नेपालमा बजारमा ३ दर्जन बढी ब्राण्ड ५० बढी मोडलका ईभी उपलब्ध छन् । तीमध्ये करिब आधा दर्जन मोडलका इलेक्ट्रीक ह्याचब्याक मात्रै ३४ लाख रुपैयाँ कममा किन्न पाइन्छ ।

यी हुन् ३० हजार किस्तामा पाइने  कार

हाल नेपाली बजारमा टाटा टियागो ईभी, पन्च ईभी, बीवाइडी एटो वान, नामी बक्स, लीपमोटर टी ०३, चेरी क्यू, आर्कफक्स टी वान, प्रोटोन इमास फाइभ ३४ लाख रुपैयाँ कममा पाइन्छ ।

यी गाडी किन्न सुरूमा १३ देखि १४ लाख रुपैयाँ डाउनपेमेन्ट बुझाउनुपर्छ । बाँकी २० लाख ७ वर्षका लागि ऋण पाइन्छ । अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो छ । ५/५.५ प्रतिशत ब्याजदरमै अटो कर्जा पाइने अवस्था छ । ५.५ प्रतिशत ब्याजदरले हिसाब गर्दा मासिक किस्ता २९/३० हजार रुपैयाँ हाराहारी पर्न आउँछ ।

ह्याचब्याकमा सबैभन्दा सस्तो रहेको टाटा टियागो ईभीको मूल्य २७ लाख ४९ हजार र २९ लाख ९९ रुपैयाँ छ । यसमा ५५ किलोवाटको मोटर र २४ किलोवाटको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा २०५ किमी बढी रेन्ज दिन्छ ।

त्यस्तै, टाटाकै कम्प्याक्ट एसयूभी पन्च ईभी पनि ३४ लाखभन्दा कममै किन्न पाइन्छ । यसको बेस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यसमा ३० किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३७५ किमी बढी रेन्ज दिन्छ ।

बीवाइडी एटो वानको डाइनामिक भेरियन्टको मूल्य ३० लाख ८० हजार रुपैयाँ छ । यसमा ४५ किलोवाटको मोटर ३०.०८ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटको फुलचार्जमा २३० किमी रेन्ज दिन्छ ।

नामी बक्स ई २ दुई भेरियन्टमा उपलब्ध छ । यसको ३२० किमी रेन्ज दिने भेरियन्टको मूल्य ३० लाख ९९ हजार र ४३० किमी भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ छ । नामी बक्सका यी दुवै भेरियन्टमा ४९.५ किलोवाटको मोटर रहेको छ । नामी बक्स ई २ मा ३१.४ किलोवाट र ४२.३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

चेरी क्यूको कम्फर्ट भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ । यसमा ९० किलोवाटको मोटर र ४१.३ किलोवाट आवर क्षमताको ब्याट्री, छ । जसले सिंगल चार्जमा ३०० किलोमिटर बढी रेन्ज दिन्छ ।

आर्कफक्स टी वान एलभी २ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । १८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीमा ४२।३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ ।

मलेसियन ब्राण्ड प्रोटोन इमास फाइभको प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको एलएफपी ब्याट्री छ ।यसले एकपटको फुलचार्जमा २२५ किमी डब्लूएलटीपी रेन्ज दिन्छ ।


Back_to_top