हिमालय अर्गनाइजेसनले बेच्ने गाडी किन्न गोर्खाज फाइनान्सले ८०%सम्म ऋण दिने

काठमाडौं । हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्स लिमिटेड बीच सहज र सुलभ फाइनान्सिङ सम्बन्धी सम्झौता भएको छ ।

समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हिमालय अर्गनाइजेसन अन्तर्गतका कम्पनीले बिक्री गर्ने सवारी साधन खरिदका लागि गोर्खाज फाइनान्सले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।

फाइनान्सले ग्राहक तथा यातायात व्यवसायीहरूलाई प्रतिस्पर्धी ब्याजदरमा ७ वर्षसम्मका लागि सहजै कर्जा उपलब्ध गराउने छ ।

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ ।

पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमुख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो । यसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउँदै आएको छ । देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्र्स तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

कम्पनीले हाल म्याक्सका इलेक्ट्रीक पिकअप, डोङफेङ कमर्सियल भेहिकल्सका विद्युतीय सिटी बस तथा स्कुल बस, हुबेई ट्राइ रिङ मोटर्सको विद्युतीय ट्रक तथा टिपर र फोर्स मोटर्सका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आएको छ ।


Back_to_top